राजनीति


प्रधानमन्त्रीले ३ शीर्ष नेतालाई भनिन्- अब कुनै अलमल नगरी चुनाव सफल पारौँ

प्रधानमन्त्रीले ३ शीर्ष नेतालाई भनिन्- अब कुनै अलमल नगरी चुनाव सफल पारौँ

नेपालखबर
पुस १२, २०८२ शनिबार १६:३०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख ३ दलका शीर्ष नेतालाई अब कुनै अलमल नगरेर चुनाव सफल पार्न आग्रह गरेकी छिन्। 

चुनावी तयारीबारे छलफल गर्न कार्कीले शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै यस्तो आग्रह गरेकी हुन्।

‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ,’ उनले भनिन्, ‘यो हामी सबैको जिम्मेवारी हो।'

बैठकको सुरुवातमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ। यो घर तपाईँहरूकै हो।’

आफू न्याय क्षेत्रबाट आएको स्मरण गराउँदै उनले राष्ट्रपतिबाट निर्वाचन गराउने कार्यादेश पाएपछि सरकार पूर्ण रूपमा चुनावको तयारीमा जुटेको स्पष्ट पारिन्।‘प्रशासनिक काम-कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु,’ कार्कीले थपिन्।

निर्वाचन सफल पार्न सबै दलको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै उनले भनिन्, ‘यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ।’

 निर्वाचनप्रति सकारात्मक वातावरण बनिरहेको भन्दै कार्कीले आफूले ३ वटै दलका नेता चुनवाको तयारीमा लागेको थाहा पाएको बताइन्। ‘तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने मैले देखेकी छु, यो स्वागतयोग्य छ,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकिएको जानकारी नेताहरुलाई दिनइन्।

‘हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ,’ कार्कीले भनिन्, ‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा यहाँहरूले पनि महसुस गर्नुभएकै होला।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad