गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका मानकहरूमा परिपक्व भएर जिम्मेवार ढङ्ले प्रस्तुत हुन सुझाव दिएका छन्।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पहिलो पटक विकास गरिएको सुशासन र सेवा प्रवाहको नवीनतम मोडेल सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्स्मेण्ट सिस्टम) ‘पास’ एवं टोकन प्रणालीको सुरुवात गर्दै उनले जेनजी पुस्ताका शक्तिलाई सुशासनका प्रमुख मानकहरू जस्तै मानव अधिकारको सम्मान, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका सवालमा परिपक्व र जिम्मेवार ढङ्गले प्रस्तुत हुन सुझाव दिएका हुन्।
अन्तरिम सरकार बनेको जेनजी जन आन्दोलनको जगबाट बनेको उल्लेख गर्दै उनले सरकारको जगलाई मजबुद र संस्थागत गर्नुबाहेक अर्को कुनै विकल्प नभएको बताए। मन्त्री अर्यालले भने, ‘जेनजी पुस्ता हामी सबैको ‘गुरु पुस्ता’ जस्तै भइसकेको र नेपाल राष्ट्र स्वयं नै ‘गुरु राष्ट्र’ जस्तो भएको छ किन भने यो आन्दोलनलाई अरू देशका जेनजी पुस्ताले अनुसरण गर्न थालेका छन्।’
जेनजी पुस्ताले जनआन्दोलनबाट देखाएको अग्रसरता र त्यसपछि भएको परिवर्तनलाई सही आचरणबाट संस्थागत गर्दै व्यवहारमा देखाउनुपर्नेमा उनको जोड थियो। उनले भने, ‘नेपाललाई गुरु राष्ट्र बनाउनका लागि सुशासनका सबै मानकहरूका बारेमा नव पुस्ताले अभ्यास गर्ने र प्रशिक्षण दिने अवस्थामा पुग्नुपर्छ।’
आजदेखि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुरु भएको ‘पीएएस’ प्रणालीले नागरिक र राष्ट्र सेवकको सम्बन्ध नयाँ चरणमा पु¥याएको गृहमन्त्री अर्यालको भनाइ छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सो प्रणालीको विकास खरानीबाट उठेर प्रशासनको नयाँ भवनबाट प्रविधि मात्रै र सेवाग्राहीमैत्री सेवाको सुरु गर्न पाउँदा खुसी लागेको बताए।
त्यस प्रणालीमार्फत सेवा लिन आउने सेवाग्राहीले कार्यालयभित्र प्रवेश गरेपछि पहिले सेवाग्राहीको कागजात रुजू गरिसकेपछि उनीहरूले लिन चाहेका सेवाका आधारमा टोकन लिएर सम्बन्धित शाखाबाट छिटोछरितो र झन्झटरहित सेवा लिन सकिने उनले बताए।
सो अवसरमा गृहमन्त्री अर्यालले आफ्नो कार्यकाल १०० दिन पुगेको बताउँदै आफू नेतृत्वको मन्त्रालयले सम्पन्न गरेका केही प्रमुख कार्यहरू सार्वजनिक गरिएको जानकारी दिए।
उनले यस अवधिमा मन्त्रालयले झण्डै ५० भन्दा बढी प्रमुख कार्यमा जेनजी पुस्ताका भावना र उनीहरूको अधिकार, कानुनी र सेवा सुधार, नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सुशासनका पक्षमा उल्लेख्य काम गरेको दाबी गरे। रासस
Shares

प्रतिक्रिया