नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५औँ महाधिवेशन सर्न सक्ने बताएका छन्।
बुधबार आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक कार्यक्रममा बोल्दै डा. कोइरालाले क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइले महाधिवेशन सर्न सक्ने बताएका हुन्। ‘अधिवेशन केही लम्बिन सक्छ,’ उनले भने, ‘मैले सार्न खोजेको होइन, म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हो।’
कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम तोकिएको समयमा सकिएको छैन। मंगलबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक नवीकरणको समय पुस ९ गते मध्याह्न १२ बजेसम्म थपेको छ। यसअघि पुस मसान्तभित्र नवीकरण विवरण पठाइसक्ने समय तोकिएको थियो।
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले केन्द्रबाट पठाएका केही फारममा सिरियल नम्बर उल्लेख थिएन। त्यसलाई लिएर विवाद भएपछि सदस्यता वितरणमा ढिलाइ भएको थियो।
कोइरालाले व्यंग गर्दै भने, ‘क्रियाशिल सदस्य नयाँ थपिए। नयाँ क्रियाशिल सदस्य बाँड्ने क्रममा देशभरी सिरियल नम्बर नभएको पठाउने त शेखर कोईराला होइन होला। अर्कैले पठाएको होला। मैले त थाहा पाएँ। थाहा पाएपछि चनाखो भएँ।’
कांग्रेसका गाउँ तथा नगर समितिदेखि जिल्ला हुँदै प्रदेश कार्यसमितिको अधिवेशन भएपछि महाधिवेशन हुनेछ। कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तय भएको छ।
Shares

प्रतिक्रिया