कोशी


मालपोत र जिल्ला प्रशासन कार्यालय अगाडीबाट ३० जना नियन्त्रणमा

मालपोत र जिल्ला प्रशासन कार्यालय अगाडीबाट ३० जना नियन्त्रणमा

नेपालखबर
पुस ८, २०८२ मंगलबार १७:२२, विराटनगर

विराटनगरका लेखापढी व्यवसायीलाई प्रहरीले धरपकड गरेको छ। विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रहरीले मंगलबार ३० जनालाई पक्राउ गरेको हो।

बिचौलियाको रूपमा सक्रिय भई सेवाग्राहीलाई दुःख र हैरानी दिएको गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयबाट १० जना र मालपोत कार्यालय परिसरबाट २० जना लेखापढी व्यवसायीहरूलाई नियन्त्रणमा लिएको हो।

बिचौलियाको बिगबिगी भएको र सेवाग्राहीलाई दुःख दिएको उजुरी आएपछि प्रमुख जिल्ला अधिकारीको आदेशमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमा कतिपय लेखापढी व्यवसायी र कतिपय कागजात बोकेर भित्र काम गरिरहेका सहयोगीहरू रहेका लेखापढी कानुन व्यवसायीले दाबी गरेका छन्।

प्रहरीको यस कदमको नेपाल लेखापढी कानुन व्यवसायी सम्बद्ध सङ्गठनले कडा विरोध गरेको छ। लेखापढी व्यवसायी सङ्घ विराटनगर एकाइका अध्यक्ष कन्चन न्यौपानेले प्रहरीको यो कार्य ज्यादतीपूर्ण भएको बताए। अदालतबाट लाइसेन्स लिएर र सरकारलाई धरौटी बुझाएर वैधानिक रूपमा भू–सेवा केन्द्र (पाम) मार्फत सेवा दिइरहेका व्यवसायीलाई अपराधी जस्तो व्यवहार गरिएको उनले बताए।

आफ्ना साथीहरूको पक्राउको विरोधमा व्यवसायीहरूले मालपोत कार्यालयमा केही समय तालाबन्दी गरेका थिए। उनीहरूले ‘पेन डाउन’ (काम ठप्प) गरेका छन्। 

अध्यक्ष कन्चनले भने ‘हामीलाई अदालतले लाइसेन्स दिएको छ, हामी आफ्नो पेसा व्यवसाय गर्न पाउँछौँ। सबैको व्यक्तिगत अफिस नहुँदा कार्यालयको प्राङ्गणमा बसेर काम गर्नु बाध्यता हो। तर प्रहरीले अपराधीलाई जस्तो समातेर लैजानु निन्दनीय छ।’

लेखापढी विराटनगर एकाइ अन्तर्गत करिब २७६ जना व्यवसायीहरू आबद्ध छन्। 

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले ३० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताएका छन्। उनीहरू लेखापढी व्यवसायी भए नभएको बारेमा यकिन गर्ने काम भइरहेको जानकारी दिए। 

एसपी कटुवालले भने, ‘हामी उनीहरू लेखापढी व्यवसायी हुन् की हैनन्, भन्ने बारेमा यकिन गर्ने कामहरू गरिरहेका छौँ, ‘उनीहरूले कहिलेदेखि त्यसरी बिचौलियाको काम गरिरहेका थिए भन्ने बारेमा समेत अनुसन्धान भइरहेको छ।’  

घटना लगत्तै व्यवसायीहरू जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी, मोरङका प्रहरी उपरीक्षक र सहायक प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad