सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मै प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुपर्ने स्पष्ट गरेका छन्।
सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा पुगेर उनले निर्वाचनको विकल्प नरहेको बताए।
मन्त्री खरेलले जेनजी जनआन्दोलनबाट बनेको सरकारले निर्वाचन गराउने स्पष्ट म्याण्डेट पाएको उल्लेख गर्दै भने, ‘जेनजी जनआन्दोलनपछि प्राप्त जनादेशअनुसार फागुन २१ मा निर्वाचन गर्नैपर्छ, यसका लागि सरकारसँग कुनै विकल्प छैन।’
उनले समयमै निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दलसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै थपे, ‘फागुन २१ गतेको निर्वाचन सुनिश्चित गर्न सरकारको तर्फबाट सबै राजनीतिक दलहरूसँग छलफल र सहजीकरणको प्रक्रिया अघि बढाइएको छ।’
यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान अवस्थाबारे टिप्पणी गर्दै भने, ‘अहिलेको विषम परिस्थितिमा निर्वाचन बाहेक अन्य कुनै उपाय छैन, र धेरै ढिलाइ गर्नु देशको स्थायित्वका लागि उचित हुँदैन।’
उनले निर्वाचनका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारे।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिमा कानूनमन्त्री सिन्हा संयोजक रहनुभएको छ भने सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहनुभएको छ।
Shares

प्रतिक्रिया