राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीचको भेटवार्ता सुखद् भएको असिम शाहले बताएका छन्।
रवि-बालेनबीच गएराति कमलपोखरीमा भेटवार्ता भएको थियो। यो भेटको प्रबन्ध मिलाएका शाहले फेसबुकमा उनीहरूबीचको वार्ता सुखद् भएको बताएका हुन्।
रवि र बालेनलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन-दुई दाजु-भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई!’

लामिछाने र बालेनबीच मध्यरातमा असिम शाहकै म्युजिक कम्पनी जी २१ को कार्यालयमा भेटवार्ता भएको हो। असिम पनि रास्वपाका नेता हुन्। वार्ता सकेर रवि र बालेन एउटै गाडिमा निस्केका थिए।
रवि र बालेनबीच सोमबार बिहान पनि छलफल भएको थियो।
शाहको कमलपोखरीस्थित कार्यालयमा साेमबार साँझ करिब ७ बजेदेखि सुरु भएको वार्ता राति करिब डेढ बजेसम्म चलेको थियो। उनीहरूबीच सहकार्यको ढाँचा, शक्ति बाँडफाँट र भावी राजनीतिक रणनीतिका विषयमा छलफल भएको बुझिएको छ।
यो वार्तापछि दुवैजना सहकार्य गर्ने विषयमा सहमत भएका छन्। निर्वाचनअघि सबै वैकल्पिक शक्तिहरूलाई एकै ठाउँ ल्याउने गरी उनीहरूबीच सघन छलफल भएको हाे।
६ घण्टाको बसाईमा उनीहरुबीच सामूहिक र एक्ला–एक्लै पनि वार्ता भएको छ। अन्तिममा उनीहरुले मिलेर जाने र एक–अर्कालाई साथ दिने निष्कर्ष निकालेका छलफलमा सहभागी नेताहरुले बताएका छन्।
रवि जेलबाट छुटेपछि उनीहरूबीच हिजो दोस्रोपटक वार्ता भएको हो। रवि नक्खु कारागारमा हुँदा पनि पनि उनीहरूबीच विभिन्न ढंगले वार्ता भइरहेको थियो।
केही नेता रवि र बालेनको एउटै पार्टी बनाउने कोसिसमा लागेका छन्। नभए पनि आगामी चुनावमा तालमेल गरेर जाने तयारी छ। वार्ता पनि एउटै कारबाट बाहिरिनुले पनि उनीहरु एकता उन्मुख भएको सन्देश दिएको छ।
रवि र वालेनबीचको यो वार्ताले पुराना पार्टीहरुलाई पनि दबाब सिर्जना गरेको छ।
रास्वपा उपसभापति अर्यालले दुई नेताबीच भएको छलफलको विस्तृत प्रगतिबारे आज सार्वजनिक गरिने बताएका छन्।
लामिछानेले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि एक्ला–एक्लै वार्ता गरेका थिए। त्यसपछि लामिछानेले बालेनलाई भेटेका हुन् । लामिछानेले ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि भेट्ने तयारी गरिरहेका नेताहरू बताउँछन्।
रवि लामिछाने सहकारीको रकम हिनामिना गरेको आरोपमा लामो समय कारागार बसेपछि गत शुक्रबार मात्रै धरौटीमा रिहा भएका थिए। कारागारबाट छुटेपछि लामिछानेले राजनीतिक गतिविधि तीव्र बनाउँदै लगेका छन्।
Shares

प्रतिक्रिया