राजनीति


ठूला दलका शीर्ष नेता भेट्न अनिच्छुक प्रधानमन्त्रीद्वारा रविसँग भेटवार्ता

ठूला दलका शीर्ष नेता भेट्न अनिच्छुक प्रधानमन्त्रीद्वारा रविसँग भेटवार्ता

नेपालखबर
पुस ६, २०८२ आइतबार २१:२०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेकी छिन्। विघटित संसद्का तीन ठूला शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतालाई भेट्न अनिच्छुक देखिएकी प्रधानमन्त्री कार्कीले लामिछानेसँग गरेको संवादलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

जेलबाट शुक्रबार मात्रै रिहा भएका लामिछाने, जेलमुक्त भएको तेस्रो दिन नै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई नभेटेकी प्रधानमन्त्रीले उनलाई प्राथमिकतामा राखेर भेट्नुले चुनावी रणनीतिको सङ्केत गरेको छ।

संसद् विघटनपछि केपी शर्मा ओली नेतृत्वको एमाले र नेपाली कांग्रेसले यो कदमलाई 'असंवैधानिक' भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। कांग्रेस निर्वाचन सँगसँगै संसद् पुनःस्थापनाको एजेन्डामा काम गरिरहेछ। एमाले संसद पुनर्स्थापनामै जोड दिइरहेको छ।

यस्तो अवस्थामा प्रधानमन्त्रीले निर्वाचनको पक्षमा उभिने शक्ति खोजिरहेको देखिन्छ। लामिछानेले जेलबाट बाहिरिएपछि 'सरकार एक्लो छैन' भन्ने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिले निर्वाचनप्रति टाढिँदै गएका दलहरूलाई फरक सन्देश दिएको छ। रविको सार्वजनिक अभिव्यक्ति निर्वाचन गराउन अघि बढेकी प्रधानमन्त्रीका लागि राजनीतिक सहारा पनि हो। आइतबार पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले सरकारलाई साथ दिने घोषणा नै गरेका थिए।

जेनजी आन्दोलनपछि युवा मतदाताको ठूलो हिस्सा नयाँ दल र रास्वपातर्फ आकर्षित भइरहँदा प्रधानमन्त्री कार्कीले चुनावको माहोल बनाउन लामिछानेको 'क्रेज' उपयोग गर्न पनि खोजेको देखिन्छ।

स्वर्णिम वाग्ले, डोलप्रसाद अर्यालसहितका नेताहरू लिएर बालुवाटार छिरेका लामिछाने केवल 'भेटघाट' मा मात्र सीमित भएजस्तो देखिँदैन। संसद् पुनःस्थापनाको माग गर्दै सडक र अदालतमा रहेका ठूला दलहरूमा यो भेटले राजनीतिक सन्देश दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad