नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेता जयपुरी घर्तीले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने खेल भइरहेको बताएकी छन्।
काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार नेकपाले आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता घर्तीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न खोज्नेहरूविरुद्ध खबरदारी गर्नुपर्ने बताइन्। ‘हामीले रगत र पसिना बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई छिन्नभिन्न गर्ने प्रवृति बढेको छ,’ उनले भनिन्, ‘खबरदारी गर्न चाहन्छौं- संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न हामी सक्षम छौँ।’
उनले आफू १४ वर्षको उमेरदेखि नै देश र जनताका लागि लडाइँमा निस्केको स्मरण गरिन्। ‘१४ वर्षको उमेरमा सार्वजनिक मुद्दा लाग्यो। त्यसको प्रतिवाद गर्यौं, भूमिगत भयौं, जनयुद्ध गर्यौं, जनआन्दोलन गर्यौँ र संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं,’ घर्तीले भनिन्, ‘हाम्रो पसिना, रगतले परिवर्तन भएको हो। त्यसलाई रक्षा गर्दै अगाडि बढ्नुपर्छ।’
Shares

प्रतिक्रिया