बागमती


बागमती प्रदेशका यी ३ सांसद, जो ओलीनिकट हुँदाहुँदै पनि महाधिवेशनमा हारे

बागमती प्रदेशका यी ३ सांसद, जो ओलीनिकट हुँदाहुँदै पनि महाधिवेशनमा हारे

सुनिता विष्ट
पुस ५, २०८२ शनिबार १४:१९, हेटौँडा

पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट हुँदाहुँदै पनि बागमती प्रदेशका ३ सांसद नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा हारे। कारण हो- उम्मेदवारी सूची बनाउँदा ओलीले उनीहरूलाई आफ्नो प्यानलमा राखेनन्।

अध्यक्ष ओली नजिक भएकै कारण बागमती प्रदेश सरकारमा मन्त्री बनिसकेका प्रकाश श्रेष्ठ र केशवप्रसाद पोखरेलसमेत केन्द्रीय सदस्य बन्न सकेनन्। 

ओली प्यानलमा नअटाएपछि दुवै जनाले स्वतन्त्र रूपमा खुलातर्फ एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिए। तर श्रेष्ठले ४१४ मत मात्रै पाए भने पोखरेलले ५४४ मत मात्रै ल्याए। अर्थात् दुवैजना हारे। 

जबकि अध्यक्ष ओलीकै निर्देशनमा श्रेष्ठ एकपटक उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री र अर्कोपटक कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए। काठमाडौँ २ (९) बाट प्रदेश सांसदमा निर्वाचित श्रेष्ठ ओलीको विश्वासपात्र मानिन्छन्। तर एघारौँ महाधिवेशनमा ओली टिमबाट उम्मेदवारी दिन नपाउँदा पार्टीको केन्द्रीय कमिटीमा ‘डेब्यु’ गर्ने उनको आकांक्षामा ‘ब्रेक’ लागेको छ। 

२०७९ को आम निर्वाचनमा काठमाडौँ २(९) बाट प्रदेशसभा सदस्य निर्वाचित पोखरेल पनि ओलीकै इच्छाले बागमती मन्त्रिपरिषद्‌मा एकपटक कृषि र अर्कोपटक वन तथा वातावरण मन्त्री बनिसकेका नेता हुन्।

तर ओली प्यानलमा नअटाएकै कारण बागमती प्रदेशका अन्य ६ सांसद एमालेको केन्द्रीय कमिटीमा पुग्दा उनीहरू २ जना भने हार बेहोर्न बाध्य भए। 

त्यसो त ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय सदस्यमा उठेका बागमती प्रदेशका समानुपातिक सांसद ज्ञानबहादुर तामाङ पनि पराजित भए। काठमाडौँबाट समानुपातिक प्रदेश सांसद निर्वाचित तामाङले समावेशी आदिवासी जनजाति क्लस्टररबाट एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। तर उनका पक्षमा जम्मा ७५२ मत मात्रै आयो। 

यद्यपि प्रदेशका एमाले नेताहरू तामाङ पनि ओलीनिकट नै रहेको तर उम्मेदवारी प्यानलमा नपारिएपछि पोखरेल समूहमा सामेल भएको दाबी गर्छन्। 

ओली प्यानलमा अटाएका यहाँका अन्य ६ सांसद भने एमालेको केन्द्रीय कमिटीमा पुगेका छन्। 

एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया, प्रमुख सचेतक एकालाल श्रेष्ठ, पूर्वमन्त्री भारती पाठक, सांसद उर्मिला सुनुवार, शकुन्तला श्रेष्ठ र अमन मास्के केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

यस्तै बागमतीका पूर्वमन्त्रीद्वय कृष्णप्रसाद सिलवाल र रामेश्वर श्रेष्ठ पार्टीका अलगअलग केन्द्रीय आयोगमा सदस्य बन्न सफल भएका छन्। 

सिलवाल एमाले केन्द्रीय अनुशासन आयोग र श्रेष्ठ केन्द्रीय लेखा आयोग सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad