राजनीति


प्रतिनिधि सभा विघटनविरुद्धको कांग्रेसको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

प्रतिनिधि सभा विघटनविरुद्धको कांग्रेसको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

नेपालखबर
पुस २, २०८२ बुधबार १४:३१, काठमाडौँ

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतका सांसदले दर्ता गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै अन्तरिम आदेश माग गरिएको थियो। 

उनीहरूको रिटमा संवैधानिक इजलासले कारण देखाउ आदेश दिएको छ। सर्वोच्चले विपक्षीलाई ‘यसमा के कसो भएको हो? रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिनुनपर्ने हो, त्यसको कारण पेश’ गर्न भनेको छ। 

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशिला कार्की, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखलाई विपक्षी बनाइएको थियो। 

रिटमाथि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो। 

घिमिरेसहित कांग्रेसका आठ जना निवर्तमान सांसदले गत गत मंसिर २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्न र संविधानअनुसार, नयाँ सरकार गठनका लागि अन्तरिम आदेश दिन माग गरिएको थियो। 

यसअघि नेकपा (एमाले)का नेताहरूले पनि प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका थिए। त्यस्तै विभिन्न कानून व्यवसायीले पनि रिट दिएका थिए। अहिलेसम्म परेका २० वटा रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सबै रिटमा कारण देखाउ आदेश मात्रै दिएको छ। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए। सरकारको सिफारिशमा प्रतिनिधि सभा विघटन गरेर आउँदो फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचत घोषणा गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad