राजनीति


एमाले महाधिवेशनमा ‘क्रस भोटिङ’

एमाले महाधिवेशनमा ‘क्रस भोटिङ’

एमाले अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल।


नेपालखबर
पुस २, २०८२ बुधबार १२:५९, काठमाडौँ

नेकपा (एमाले)को महाधिवेशनमा बुधबार बिहानदेखि मतदान सुरु भएको छ। मतदान गरेर निस्किएका केही मतदाताले भने ‘क्रस भोटिङ’ गरेको बताएका छन्। 

काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनस्थिलमा नेपालखबरले केही मतदातासँग कुराकानी गरेको छ। मतदान गरेर निस्किएका मतदातामध्ये धेरैले ‘क्रस भोटिङ’ गरेको बताएका हुन्। 

पार्टीलाई एकताबद्ध बनाउन प्यानल नहेरेर दुवै तर्फका राम्रा उम्मेदवारलाई मतदान गरेको एक मतदाताले बताए। ‘पार्टीलाई एकताबद्ध गर्न मिक्स उम्मेदवारलाई मत दिएँ,’ उनले भने। 

एमाले पदाधिकारीमा एकै प्यानलको नभएर दुवै प्यानलबाट नेतालाई ल्याउनुपर्ने भन्दै ‘क्रस भोटिङ’ गरेको अर्का मतदाताले सुनाए। ‘मैले दुवै प्यानलको नाम लिस्ट हेरेर छानेर मत हालेँ,’ उनले नेपालखबरसँग भने, ‘एमालेलाई एकढिक्का राख्न अध्यक्षबाहेक मिश्रित पदाधिकारी जिताउनै पर्छ।’

मतदान गरेर निस्किेका केही मतदाताको भनाइमा पदाधिकारीमा महासचिवमा कडा टक्कर देखिएको छ। धेरैले प्यानल नहेरेर ‘क्रस भोटिङ’ गरेको बताएका छन्। 

त्यसपछि उपाध्यक्ष र सचिवमा पनि ‘क्रस भोटिङ’ भएको उनीहरूले सुनाएका छन्। अध्यक्षमा दुवै तर्फकाले प्यानलमै ध्यान दिएको भए पनि उपाध्यक्ष, महासचिव र सचिवमा यताउता मतदान भएको उनीहरूको भनाइ छ। 

एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। त्यस्तै, महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन्। 

एमालेमा १९ पदाधिकारीका लागि दुवै तर्फबाट प्यानल बनाएर उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्।  त्यस्तै, ३ सय १ केन्द्रीय सदस्यमा पनि दुवै पक्षले उम्मेदवार बनाएका छन्। 

बुधबार बिहान ८ बजेबाट मतदान सुरु भएको छ। राति १० बजेसम्म मतदान सकिने आकलन गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। महाधिवेशनमा साढे ६ सय उम्मेदवार छन् भने २ हजार २ सय ६३ मतदाता रहेका छन्। 

मतदान सकिए लगत्तै मतगणना हुने आयोगले जनाएको छ। विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेकाले गणनामा भने समय नलाग्ने आयोगको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad