राजनीति


राति १० बजेसम्म मतदान सकिने आकलन छ : एमाले केन्द्रीय निर्वाचन आयोग

राति १० बजेसम्म मतदान सकिने आकलन छ : एमाले केन्द्रीय निर्वाचन आयोग

नेपालखबर
पुस २, २०८२ बुधबार १२:१७, काठमाडौँ

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ।

 ८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले भोट हालिरहेका छन्। 

मेसिन भए पनि मतदान गर्न एकजनलाई आधा घण्टासम्म लाग्ने गरेको मतदाताले बताएका छन्। 

यसैबीच एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले आज राति १० बजेसम्म मतदान सम्पन्न हुने आकलन गरिएको जानकारी दिए। 

‘आज राति ८ बजे मतदान सकिने अनुमान गरेका छौँ’, उनले नेपालखबरसँग भने, ‘यसमा एक/दुई घण्टा तलमाथि भए पनि राति १० बजेसम्म मतदान सकिनेछ।’

एमालेको जारी निर्वाचनमा ८० वटा भोटिङ मेसिनको व्यवस्था गरिएको छ। एउटा मतदाताले ३ सय हारहारी उम्मेदवारका लागि मतदान गर्नुपर्छ।

 

 

जारी मतदानबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्। 

अध्यक्षका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलका दुई प्यानलका गरी ६ सय ५० जनाजति उम्मेदवार छन्।

यसरी भइरहेछ मतदान

टच स्क्रिन डिस्प्ले : मतदान गर्न बुथभित्र प्रवेश गरेपछि त्यहाँ निर्वाचन आयोगले प्रमाणित गरेका मेसिनको टच स्क्रिन डिस्प्ले देखिन्छ। टच स्क्रिन प्यानलमा उम्मेदवारको नाम फोटोसहित देखिन्छ। मतदाताले आफूले चाहेको उम्मेदवारको फोटोमा थिचेर वा टच गरेर मत जाहेर गर्नुपर्छ। आफूले चाहेको उम्मेदवारलाई मतदान गरिसकेपछि  उम्मेदवारको फोटोमा स्वस्तिक चिह्न देखिन्छ। यो मतदान सदर भयो भन्ने संकेत हो। 

क्रमैसँग मतदान : निर्वाचन आयोगले प्रमाणिकरण गरेको मेसिनमा माथिदेखि तल अर्थात् अध्यक्षदेखि केन्द्रीय सदस्यको अर्डरमा उम्मेदवारको नाम रहेका छन्। पदीय मर्यादाक्रमअनुसार पहिलोलाई मतदान गरेपछि मात्र दोस्रोलाई मतदान गर्न पाइन्छ। जस्तो : अध्यक्ष, उपाध्यक्ष, महासचिव... क्रमैसँग।

सफल भएको सन्देश : सबै उम्मेदवारलाई गरेको मतदान नम्बरलाई पहिला मेसिनको गणना एकाईले रेकर्ड गर्छ। मतदान सफल भएको संकेत दिन ‘बिप’ आवाज अथवा अडिओ सन्देश आउँछ। 

कहिले आउला मतपरिणाम?
मतदान गर्न धेरै समय लागे पनि गणनामा धेरै समय लाग्दैन। मेसिनमा मतदान हुने भएकाले ८० वटा मेसिनमा भएको मत संख्या जोड्दा, निर्वाचन आयोगले प्रमाणीकरण गर्दा ४-५ घण्टा समय लाग्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad