राजनीति


सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्तामा के भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्तामा के भयो सहमति?

दुर्गा प्रसाइँ/ फाइल तस्बिर


नेपालखबर
पुस २, २०८२ बुधबार ७:५४, काठमाडौँ

सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सरकारले जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार साँझ भएकाे वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

सञ्चारमन्त्री खरेलले भने, 'सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुबैतर्फबाट आ–आफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ।'

अभियानका केन्द्रीय प्रेमदिप लिम्बुले वार्तामा सकारात्मक र सौहार्दपूर्ण वातावरण कुराकानी भएको बताए । आन्तरिक गृहकार्य गरेर चरणद्ध वार्ता र संवादको माध्यमबाट महाअभियानले उठाएको मागहरुको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए।

वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानबाट सचिव प्रेमदिप लिम्बुको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए।

अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका हुन्। वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ।

सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केहिदिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो।

कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहनुभएको छ।

उक्त समिति अन्तर्गत राजनीतिक दल र विभिन्न पक्षहरुसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको थियो। सोही समितिले आज महाअभियानका टोलीसँग वार्ता गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad