नेकपा एमालेका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीको आकांक्षा यसपाली महासचिव बन्ने थियो। त्यही अनुसार उनले अध्यक्ष केपी शर्मा ओलीसँग 'लबिङ' पनि गरेका थिए।
त्यो क्रम उनले ११ औँ महाधिवेशनको बन्दसत्र सुरु भएपछि पनि जारी राखे। तर, जब प्यानल घोषणा गर्ने बेला आयो, अध्यक्ष ओलीले तयार पारेको सूचीले उनी खिन्न भए।
ओलीले महासचिवमा शंकर पोखरेलाई नै दोहोर्याउँदै र ज्ञवालीलाई उपाध्यक्षमा राखेर प्यानल बनाए। त्यसप्रति उनले ओलीसँग असन्तुष्टि जनाए। तर, ओली आफ्नो अडानबाट हलचल भएनन्।
ओली नबदलिएपछि उनी पनि बदलिएनन्। ज्ञवालीले सोमबार पदाधिकारीमा उम्मेदवारी नै दिएनन्। केन्द्रीय कमिटी सदस्यमा मात्रै उनी उम्मेदवारी दिएर घरतर्फ लागे।
यसले ओली समूहमा ठूलो हलचल ल्यायो।
तर, मंगलबार बिहानै ज्ञवाली समाजिक सञ्जालमा प्रकट भए। त्यहाँ उनले ओली पदाधिकारीमा सिंगो ओली प्यानल र केन्द्रीय सदस्यमा आफूलाई मत मागे।
‘नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘म हमेशा तपाईंहरूकै बीचमा छु, त्यहीँ रहन्छु।’
अनि आफूलाई मत माग्दै उनले भनेका छन्, ‘यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु। कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु।’
ज्ञवाली फेसबुकमा मात्रै ओली प्यानलमा खुलेनन्, त्यसपछि बन्दसत्र स्थल भृकुटीमण्डपमा गएर महासचिवको उम्मेदवार बनेका पोखरेल लगायतका नेताहरुलाई मत समेत मागिरहेका छन्।
Shares

प्रतिक्रिया