राजनीति


ऊबेला चुनावमा टिकट पत्याएनन्, अहिले उनै जबाहरलालले जिते प्रचण्डको मन

ऊबेला चुनावमा टिकट पत्याएनन्, अहिले उनै जबाहरलालले जिते प्रचण्डको मन

जनार्दन पोखरेल
पुस १, २०८२ मंगलबार ९:९, काठमाडौँ

७ साउन २०७९ मा नेपाली कांग्रेसबाट तत्कालीन माओवादी केन्द्रमा प्रवेश गर्दा जबाहरलाल कुशवाहाले सर्लाही ३ (क)बाट प्रदेश सभा सदस्य उम्मेदवारको टिकट पाउने आश गरेका थिए। 

तर, ४ मंसिर २०७९ को निर्वाचनमा प्रचण्डले कुशवाहालाई टिकट दिएनन्। यो क्षेत्रमा माओवादी–कांग्रेस–एकीकृत समाजवादीसहितको गठबन्धनबाट डिल्ली उप्रेतीले टिकट पाए। उप्रेती एकीकृत समाजवादीका नेता थिए। 

चुनावमा टिकट पाउने आशमा शिक्षकबाट राजीनामा दिएर प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका कुशवाहाको मन टिकट नपाउँदा कुँडियो। उनले स्वतन्त्र रुपमा सर्लाही ३ (क)बाट उम्मेदवारी दर्ता गराए। 

निर्वाचनमा उनको चर्चा माओवादी केन्द्रका ‘बागी’ उम्मेदवारको रुपमा भयो। 

माओवादीबाट बागमती नगरपालिकाको मेयरमा विजयी भएका भरत थापा र हरिवनका मेयर कमल बुढाथोकीले पार्टी निर्णयविपरित चुनावमा कुशवाहालाई साथ दिए। थापा र बुढाथोकीको साथले कुशवाहाको पक्षमा निर्वाचनको माहोल सिर्जना भयो। 

निर्वाचन परिणाम आउँदा एमालेका गणेश प्रसाइँलाई फराकिलो मतान्तरले पराजित गर्दै माओवादीका ‘बागी’ उम्मेदवार कुशवाहा विजयी भए।  

त्यतिबेला कुशवाहाको उम्मेदवारीले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार उप्रेतीसँगै एमाले-जसपा गठबन्धनका बलिया उम्मेदवार प्रसाइँको पनि हार भएको थियो।

प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार भएर विजयी हुने उनै कुशवाहा एक महिना नबित्दै (१३ पुस २०७९)मा माओवादी केन्द्रमा प्रवेश गरे। फेरि पनि प्रचण्डले नै अबिर लगाएर उनलाई आफ्नो दलमा भित्र्याए। 

राजनीतिक इमान र जनमतबाट आफूलाई लोकप्रिय सावित गरेका उनै कुशवाहा यसपटक माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) बाट मधेस प्रदेश सरकारमा ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री नियुक्त भएका छन्।  

मुख्यमन्त्री कृष्ण यादवले सोमबार प्रदेश सरकारमा दुई मन्त्री थप गर्दा माओवादीका कुशवाहाले पनि ठाउँ पाएका हुन्। 

‘यसबाट पार्टी नेतृत्वले मेरो इमानको मूल्यांकन गरेको महशुस गरेको छु,’ मन्त्री नियुक्त भएपछि कुशवाहाले नेपालखबरसँग भने, ‘जतिन्जेल म यहाँ मन्त्रीमा रहन्छु, फेरि पनि इमानमै रहेर कार्य सम्पादन गर्नेछु।’

तीन वर्षसम्म मधेसमा सरकार गठन-विघटन हुँदा प्रत्यक्ष निर्वाचित सांसद हुँदाहुँदै पनि कुशवाहा मन्त्री बन्न पाएनन्। 

‘यसबीचमा उहाँले पार्टीमा कहिल्यै पदको लागि बार्गेनिङ गर्नु भएन। स्वतन्त्रबाट निर्वाचन जितेको सांसद भए पनि निस्वार्थ रुपमा माओवादीमा प्रवेश गर्नुभयो,’ कुशवाहालाई नजिकबाट चिनेका नेपाली कम्युनिस्ट पार्टीका युवा नेता गौरी महतोले भने, ‘उहाँको यो इमान र लगनशीलताको अहिले पार्टी संयोजक प्रचण्डले उचित मूल्यांकन गर्नु भएको छ।’

मुख्यमन्त्री यादवले सोमबार माओवादी केन्द्रबाट कुशवाह र लोसपाबाट रानी कुमारी तिवारीलाई मन्त्री नियुक्त गरेका हुन्। कुशवाहाले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउँदा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad