समाज


रुद्रकली र खगेन्द्रप्रसाद पुगे भैरहवा, भोलि उड्नेछन् कतार

रुद्रकली र खगेन्द्रप्रसाद पुगे भैरहवा, भोलि उड्नेछन् कतार

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८२ मंगलबार ९:२६, चितवन

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन्। बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन्। 

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेका खाली जग्गामा राखिएको छ । ती हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको थियो। ती हात्ती राख्नका लागि बनाइएको खोरमा राखी ट्रकमा पठाइएको हो।

बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामा नै कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्नेछन्। हस्तान्तरण गरिएपछि कार्गो विमानमार्फत ती हात्तीलाई कतार पठाइनेछ।

रुद्रकली पूजाकली र खगेन्द्र कोशी कलीको बच्चा हो। खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको उनले बताए। 

हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन्। सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी यी दुई हात्ती कतार पठाउन लागिएको हो।

यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ। 

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँइदै आइएको छ। पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad