राजनीति


यस्तो छ नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मका आरोह अवरोह

यस्तो छ नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मका आरोह अवरोह

नेपालखबर
मंसिर २८, २०८२ आइतबार ५:३५, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ वैशाख १० गते भएको थियो । श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरबाट आरम्भ भएको नेकपा अहिले विभिन्न धार र पार्टीमा क्रियाशील छ।

विश्व कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । त्यसबेला चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अङ्ग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको थियो भने नेपालीहरू १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरङ्कुशताबाट मुक्त हुन खोजिरहेको बेला थियो।

त्यहीबीचमा स्थापना भएको नेकपाको पहिलो महाधिवेशन २०१० साल माघ १० देखि २० गतेसम्म ललिपुरको पाटनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले महामन्त्रीमा मनमोहन अधिकारीलाई चयन गरेको थियो। दोस्रो महाधिवेशन २०१४ साल जेठ १५ देखि २५ गतेसम्म काठमाडौँको दरबारमार्गमा भई महासचिवमा डा.केशरजङ्ग रायमाझीलाई जिम्मेवारी दिएको थियो।

यो महाधिवेशनपछि पार्टीभित्र प्रजातन्त्र कि राजतन्त्र भन्ने विवाद उत्पन्न भएको थियो।

नेकपाको तेस्रो महाधिवेशन पञ्चायतकालकै बीचमा २०१९ साल वैशाख ४ देखि १५ गतेसम्म भई महासचिवमा तुल्सीलाल अमात्य चुनिएका थिए । नेकपाको चौथो महाधिवेशन भने २०४६ भदौ ९ देखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा भई महासचिवमा मदनकुमार भण्डारी निर्वाचित भएका थिए। 

यो महाधिधवेशनपछि नेकपाका विभिन्न समूह र उपसमूह देखा पर्न थाले भने एमालेले ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौँ’ भन्ने नाराका साथ आफूलाई अलग धारका रूपमा अगाडि बढाएको देखिन्छ । यसैगरी एमालेको पाँचौँ महाधिवेशन २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा भएको थियो। 

यस महाधिवेशनबाट पार्टीको अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदनकुमार भण्डारी नेतृत्वमा आएका थिए । एमालेको हालसम्मको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवाद (जबज)लाई महासचिव भण्डारीले प्रस्तुत गरी पारित भएकाले यो महाधिवेशन एमालेको वैचारिक इतिहासमा महत्त्वपूर्ण मानिएको छ।

यस्तै, एमालेको छैठौँ महाधिवेशन विसं २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगन्ज, बाँकेमा भई अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा माधवकुमार नेपाल चयन भए। यो महाधिवेशनको मूलनारा ‘विकृति र विसङ्गतिका विरुद्ध सङ्घर्ष गरौँ, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौँ’ रहेको थियो। 

एमालेको सातौँ महाधिवेशन विसं २०५९ माघ १८ देखि २२ गतेसम्म, जनकपुर, धनुषामा भएको थियो । ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास १’ को मूल नारा रहेको उक्त महाधिवेशनले महासचिवमा माधवकुमार नेपाललाई चयन गरेको थियो।

त्यसपछि विसं २०६५ फागुृन ५ देखि १४ गतेसम्म, बुटवलको रुपन्देहीमा भएको आठौँ महाधिवेशनले अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित भए । उक्त महाधिवेशनको मूल नारा ‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौँ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान १’ रहेको थियो। 

एमालेको नवौँ महाधिवेशन भने विसं २०७१ असार १९ देखि साउन १ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा भई अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई निर्वाचित गर्‍यो। महाधिवेशनको नारा ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ !’ रहेको थियो।

पछिल्लो पाँच वर्षयता एमालेले नीति र विधान तथा नेतृत्व चयनका लागि छुट्टाछुट्टै महाधिवेशनको परिपाटी थालनी गरेको छ । एमालेको प्रथम विधान महाधिवेशन विसं २०७८ असोज १५ देखि १७ गतेसम्म, गोदावरी, ललितपुरमा भएको थियो । उक्त महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १ रहेको थियो।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशन २०७८ मङसिर १० देखि १२ गतेसम्म, सौराहा, चितवनमा भएको थियो । सो महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’ भन्ने रहेको थियो । उक्त महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली र महाचिवमा शङ्कर पोखरेललाई निर्वाचित गरेको थियो।

एमालेको दोस्रो विधान महाधिवेशन २०८२ भदौ २० देखि २२ गतेसम्म, गोदावरी, ललितपुरमा भई नेतृत्वमा दुई कार्यकालभन्दा बढी रहन र ७० वर्षे उमेर हद हटाउने व्यवस्था गरिएको छ।

मंसिर २७ गतेदेखि पार्टीको ११औँ महाधिवेशन सुरुभएको छ। भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन भएको छ भने बन्दसत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा हुनेछ। यस महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad