नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएको बताएका छन्।
अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएका र यसले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गरेको उल्लेख गरेका छन्।
जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेका भन्दै प्रचण्डले पहाड–पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
‘यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित राष्ट्रहरूमा बाढी, खडेरी, माटो क्षयीकरण र खाद्य असुरक्षाको रूपमा देखा परेको छ,’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘हिमनदीहरूले जल, खाद्यान्न र जीविकोपार्जनका लागि महत्त्व राख्छन्’ भन्ने यस वर्षको नाराले जलवायु सङ्कटको गम्भीरता झनै प्रस्ट पारेको छ। ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित हाम्रो देश जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा छ।’
प्रचण्डले सन्देशमा हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवनमा पैदा भएको जोखिमको चर्चा गरेका छन्। ‘अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम हो, जुन जलवायु न्यायको प्रश्नसँग गाँसिएको छ,’ उनको सन्देशमा भनिएको छ।
प्रचण्डले आफू नेतृत्वमा सरकार रहेको समयमा, जलवायु परिर्वतन तथा पर्वतीय पारिस्थितिकीका मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्डामा प्रमुख रूपमा उठाउने विशेष पहल गरेको स्मरण पनि गरेका छन्।
सो क्रममा ‘पर्वत, मानिस र जलवायु’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादको उद्घाटनसमेत आफूले गरेको भन्दै प्रचण्डले हिमालय क्षेत्रका देशहरूबीच ‘एकताबद्ध पर्वतीय आवाज’ निर्माण गर्न आवश्यक रहेको कुरा आफूले त्यतिबेला प्रस्ट रूपमा अघि सारेको बताएका छन्।
‘नेपालका तर्फबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा पर्वतीय पारिस्थितिकी प्रणालीको महत्त्व स्थापित गर्न र जलवायु न्यायको विषय कोप–२८ मा सम्बोधन गराउन गरेका प्रयास सफल भए,’ प्रचण्डले भनेका छन्, ‘संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण अत्यन्त महत्वपूर्ण र प्रेरणादायी रह्यो।’
यी सबै प्रयास जलवायु न्यायका लागि नेपालजस्ता राष्ट्रहरूको आवाजलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने दिशामा महत्वपूर्ण कदम सावित भएका पनि उनले बताएका छन्।
तर यसमा काम अझै पूरा नभएको भन्दै प्रचण्डले पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक कोष सुनिश्चित गराउन नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायमा अपील गर्नुपर्नेमा जोड दिएका छन्।
‘पर्वतहरू सुरक्षित नभएसम्म दीर्घकालीन समृद्धि र स्थिरताको कल्पना गर्न सकिँदैन भन्ने हाम्रो आवाज स्पष्ट राख्दै आएका छौँ,’ उनको सन्देशमा भनिएको छ, ‘अल्पविकसित राष्ट्रहरूको चासोलाई प्राथमिकतामा राख्नु आजको अनिवार्य आवश्यकता हो।’
उनले विश्व पर्वत दिवसले पर्यावरण संरक्षण, पर्वतीय पारिस्थितिकीको दीर्घकालीन सुरक्षा र जलवायु न्यायका लागि हामी सबैलाई नयाँ ऊर्जा र सङ्कल्प प्रदान गरोस् भन्ने कामना पनि गरेका छन्।
‘प्रत्येक नेपाली नागरिकले स्वच्छ, सुरक्षित र दिगो पर्वतीय वातावरणमा सम्मानजनक जीवन बाँच्न पाउने आधार सुनिश्चित होस् भन्ने कामना गर्दछु,’ प्रचण्डको सन्देशमा भनिएको छ।

Shares

प्रतिक्रिया