श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तिकारी विकास आजको आवश्यकता भएको बताएका छन्।
सोमबार श्रम संस्कृति पार्टीले काठमाडौँको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै साम्पाङले क्रान्तिकारी विकासमा जोड दिएका हुन्। देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डो¥याउने अभियानमा गोलवद्ध हुन उनले आग्रह गरे।
आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने उल्लेख गदै उनले श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको बताए।
‘श्रम संस्कृति पार्टीले यो देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ। यो पार्टीले स्वाधीनताको कुरा गर्छ। विदेशी ऋणको भरमा बाटो र पुल बनाउनुपर्छ भन्दैन। यही देशको स्रोत र श्रमलाई परिचालन गरेर मुलुकलाई आर्थिक उन्नतिको दिशामा अगाडि बढाउन चाहान्छ,’ उनले भने।
देशलाई विदेशी चलखेलको रणमैदान हुनबाट बचाउन श्रम संस्कृति पार्टी आएको उनको जिकिर थियो। ‘पुराना पार्टीहरूले काम गर्छन् भनेर पर्खिन सकिँदैन। सबै जना यो अभियान जोडिनुहोस्। क्रान्तीकारी विकास आजको आवश्यकता हो,’ उनले भने, ‘ठेकेदारले एक वर्षमा गर्ने काम श्रमदानमार्फत एक महिनामै गर्न सकिन्छ भने किन क्रान्तीकारी विकास नगर्ने?’
पुराना राजनीतिक दलले विकास गर्छन भन्दै पर्खिने स्थिति नरहेको उनको भनाइ थियो। पुराना राजनीतिक दलले मुलुक र जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्दै अगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन सबैलाई आह्वान गरे।
Shares

प्रतिक्रिया