एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अहिलेको अवस्थामा केपी ओलीको नेतृत्वविना एमाले अघि बढ्न नसक्ने बताएका छन्।
प्रेस चौतारीले शुक्रबार दिउँसो काठमाडौँमा गरको पत्रकार सम्मेलनमा उनले अहिलेको परिस्थितिमा ओलीको विकल्प खोज्नु नहुने बताएका हुन्।
उनले एमालेलाई एकतावद्ध गर्न पनि ओलीलाई निरन्तरता दिनुपर्ने तर्क गरे।
‘विधान महाधिवेशनले पनि ओलीको नेतृत्वको निरन्तरताको सन्देश दिएको छ,’ थापाले भने, ‘सोही म्यान्डेटअनुसार ११ औँ महाधिवेशनले नेतृत्व चयन गर्नुपर्छ।’
उनले विभिन्न पक्षले गरिरहेको उम्मेदवारी घोषणाले एमालेलाई विघटन र विसर्जनतिर लैजाने दाबी गरे। ‘प्रतिस्पर्धाको नाममा एकताविरुद्ध जानु हुँदैन। एकतावद्ध भएर ओलीकै नेतृत्वमा जानुपर्छ। आम जनता र कार्यकर्ताको चाहना पनि यही हो,’ थापाले भने।
उनले अहिलेको अवस्थामा पार्टी र देशलाई आफ्नो भूमिका पनि आवश्यक रहेको दाबी उनले गरे।
‘अध्यक्षमा ओलीको निरन्तरतामा मेरो पनि स्थान होस् भन्ने चाहना मेरो छ। पार्टीलाई एकतावद्ध गर्दै एमालेलाई अघि बढाउन पनि यो जरुरी छ,’ बादलले भने।
टोपबहादुर जेलबाट मुक्त भएपछि पार्टीले अर्को निर्णय लिने तर, अहिले उनी कुनै पदमा नरहने थापाले बताए। ‘यो महाधिवेशनबाट माओवादी पृष्ठभूमिका कमरेडहरूको निरन्तरता हुने छ। नयाँ पनि आउनु हुन्छ। सबै पृष्ठभूमिकाको निरन्तरतामा अबको नेतृत्व हुनुपर्छ,’ थापाले भने।
उनले एमालेको विधानअनुसार २५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारीको व्यवस्था भए पनि त्यसलाई विस्तार गर्न सकिने बताए। ‘सबैलाई समेट्नको लागि भए पनि विधान संशोधन गरेर पदाधिकारी बढाउनु पर्ने हुन्छ,’ उनले भने।
त्यसो गर्दा माओवादी पृष्ठभूमिका नयाँ नेता कार्यकर्ता पनि एमालेमा आउन सक्ने दाबी उनले गरे।
जेनजी आन्दोलनलाई विदेशीले चलाएको ‘कलर रिभ्याेल्युसन’ को संज्ञा दिँदै उनले यो सरकारलाई पहिलो बदाइ दलाई लामाले दिएको बताए।
अब बन्ने संसद्ले एसपीपी पास गर्ने दावी पनि उनले गरे। ‘त्यो सन्धी(एसपीपी) पास गर्ने बित्तिकै पश्चिमा सैन्य बल नेपाल आउनेछ। यो सबै योजनाअनुसार नै जेनजी आन्दोलन भएको हो,’ उनको दाबी थियो।
बंगलादेशमा शेख हसिनाले राम्रै काम गरे पनि उनलाई त्यही ढंगले हटाइएको तर्क थापाले गरे। पाकिस्तान र श्रीलंका पनि त्यस्तै भएको उनले बताए।
पश्चिमाहरूले श्रृंखलावद्ध रुपमा विश्वभर जेनजी आन्दोनल गरिएको र सरकार विघटन गराउने काम गरिरहेका दाबी उनले गरे। ‘पश्चिमाहरूले कांग्रेस, एमाले, माओवादी सबैमाथि आक्रमण गरिरहेका छन्,’ थापाले भने।
चुनाव भएर नयाँ सदन र सरकार बनेपछि त्यो सरकारले एसपीपी पास गर्ने भन्दै उनले त्यसो नगरे अबको निर्वाचनपछि बन्ने सरकार पनि पश्चिमाहरूले उल्टाउने दाबी उनको थियो।
केपी ओलीमाथि मुद्दा लगाएर सिध्याउने, कांग्रेस र माओवादीका नेतालाई पनि मुद्दा लगाएर सक्ने योजनामा उनीहरू लागेको तर्क थापाले गरे। यसले नेपालको राष्ट्रिय अखण्डता र अस्थित्वमै खतरा उत्पन्न गरिरहेको थापाले बताए।
अहिले एमाले एक्लो जस्तो देखिए पनि भोलि एमाले फेरि उठ्ने दाबी पनि उनले गरे। ‘हामीमाथि चौतर्फी आक्रमण गरे पनि एमाले फेरि उठ्ने छ। भारतीय नाकाबन्दीपछि एमाले अगाडि आएजस्तै फेरि पनि आउने छ,’ उनले भने।
एमालेमा ओलीको नेतृत्व नहुने बित्तिकै पार्टी विभाजन हुने र त्यसले प्रतिक्रान्तिलाई फाइदा गर्ने थापाले बताए।
उनले भर्खरै गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई एमालेमा समाहित हुन आग्रह गरे।
‘राजनीति र वैचारिक मतभेद छैन भने नेकपा किन चाहियो?’ प्रश्न गर्दै उनले भने, ‘नेकपाको नाममा १० कोठे घर किन बनाउनु पर्यो? उहाँहरु यतै मुल घरमा आउनुपर्छ। या त उहाँहरूले मूल घरमा फर्किने या त विघटनमा जाने हो, अरु विकल्प छैन।’
Shares

प्रतिक्रिया