राजनीति


भ्रष्टाचार आरोपी अधिकारीको स्मार्टफोनमा के छ? अनुसन्धान गर्दै अख्तियार

भ्रष्टाचार आरोपी अधिकारीको स्मार्टफोनमा के छ? अनुसन्धान गर्दै अख्तियार

नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १४:३१, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशकविरुद्ध भ्रष्टाचारको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग उनले प्रयोग गर्ने डिजिट डिभाइसतर्फ लागेको छ। अधिकारीले प्रयोग गर्ने विद्युतीय उपकरण बरामद गरी अख्तियारले अनुसन्धान गरिरहेको छ।

कम्प्युटर, ल्यापटप, स्मार्टफोन, ट्याबसहितका इलेक्ट्रोनिक डिभाइस नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको जनाएको छ। यी सामान अख्तियार टोलीले गत बुधबार बरामद गरेको थियो। स्रोतका अनुसार अधिकारीले दुईभन्दा बढी मोबाइल फोन बोक्ने गरेको पाइएको छ।

डिजिटल डिभाइसको अनुसन्धानले नागरिक उड्डयन क्षेत्रका अरु भ्रष्टाचारका घटना पनि पत्ता लाग्न सक्छ भनेर काम भइरहेको अख्तियार स्रोतले बतायो। खासगरी ती फोन नम्बर उनकै नामका हुन् अथवा अरु कसैको नामबाट निकालिएका हुन् भनेर पनि खोज भइरहेको छ। 

बुधबार अख्तियारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित प्राधिकरणका प्रबन्धक नलविक्रम थापा, उपप्रबन्धक समृद्धि श्रेष्ठ, पूर्वनिर्देशक मुरारी भण्डारी, परामर्शदाता विजय थापाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो। अख्तियारको टोली मुद्दा लिएर बुधबार विशेष अदालत बबरमहल पुगेको थियो। 

कार्यालय समय सकिएका कारण बुधबार थुनछेक बहस हुन सकेन। बिहीबार सार्वजनिक बिदा भएका कारण अदालत बन्द रहेको थियो।

आज शुक्रबार अधिकारीसहितका आरोपीलाई विशेष अदालत पुर्‍याइँदै छ। बरामद भएका विद्युतीय उपकरणको डेटा संकलन र विश्लेषणको काम अख्तियारले पूरा गर्न चाहेको छ।

अधिकारीको खुमल्टार, ललितपुरस्थित निवासबाट समेत केही सामान बरामद गरिएका छन्। साथमा रहेका मोबाइल फोन छुट्टै बरामद गरिएका हुन्। अनुसन्धान अधिकारीलाई उनले फोन उपलब्ध गराउन मानेका थिएनन्। अख्तियारस्थित नेपाल प्रहरीको टोलीले टंगालस्थित अख्तियार केन्द्रीय कार्यालायबाटै उनलाई नियन्त्रणमा लिएको थियो। 

अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सिनामंगलस्थित प्राधिकरणको भवन निर्माणलगायतका परियोजनामा भएको अनियमितता तथा भ्रष्टाचारको आरोपमा समेत प्रदीप अधिकारीसँग अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस् : हेलिपोर्ट भ्रष्टाचार : अधिकारी र भण्डारीको थुनछेक न्यायाधीशत्रय पौडेल, रावल र कोइरालाको इजलासमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad