ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन्।
मन्त्री घिसिङले मंगलबार काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गरेका हुन्।
निर्माणाधिन यो अस्पतालका लागि चालू आर्थिक वर्षमा संघीय सरकारले ८ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान विनियोजन गरेका छन्।
यसमध्ये संघीय सरकारको तीन करोड र प्रदेश सरकारको एक करोड बूढानीलकण्ठ नगरपालिकामार्फत अस्पतालको भवन निर्माणमा खर्च हुनेछ।
बाँकी ५ करोड रुपैयाँ उपकरण खरिदमा खर्च हुनेछ। विभिन्न आर्थिक वर्षमा भवन निर्माणमा सरकारले विनियोजन गरेको ७ करोड २९ लाख रुपैयाँ खर्च भई त्यसको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षणसमेत भइसकेको अस्पताल प्रशासनले जनाएको छ।
मन्त्री घिसिङले सोमबार कियोजबाट झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए।
अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ। मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा कोइरालासँग छलफल पनि गरेका छन्।
उक्त अस्पताल निर्माणका लागि सरकारले करिब ४१ रोपनी जग्गा भाडा (लिज)मा उपलब्ध गराएको थियो।
त्यसक्रममा डा. कोइरालाले सबै नेपालीको पहुँच हुनसक्ने गरी अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न बाल अस्पतालको निर्माण गरिएकोमा खुसी व्यक्त गरे। उनल अस्पताल गैरनाफामूलक, समाजसेवामा विशेष केन्द्रित हुने र कमजोर वर्गले पनि गुणस्तरीय उपचार पाउने बताए।
बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा अस्पताल निर्माणका लागि पहल भइरहेको जानकारी पनि उनले दिए। कोइरालाले देशका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका छन्।
Shares

प्रतिक्रिया