एक अव्यवस्थित कोठा। जहाँ देखिन्छ पुरानो टीभी। अनि थोत्रा कुर्सीहरू। मोटरसाइकलको भग्नाशेष। छरिएका कागजात। छेउमा राखिएको छ अक्सिजन सिलिन्डर। अक्सिजनको सहारामा सास फेरिरहेको रुखजस्तो देखिने वस्तु। जसको रेखदेख गरिरहेका छन् असीम।
मध्यरात हुन लागिसकेको छ। त्यसैबेला लालटिन बालेर भित्र पस्छन् एक व्यक्ति। जो असीमकै दाइ आर्यन हुन्छन्। आर्यन १५ वर्ष अमेरिका बसेर फर्केका हुन्छन्। अमेरिकामा बिहे भएर सन्तान भए पनि उनको डिभोर्स भइसकेको छ। घर फर्केर उनी शून्यतासँगै जीवन सुरू गर्न तयार छन्।

म:म पसलबाट आमाबारे थाहा पाएको भन्दै उनी सुरुमा भाइसँग रिसाउँछन्। सोही दिन भाइको ३० औं जन्मदिन हुन्छ। टेबुलमाथि लालटिन छ। मधुरो उज्यालोमा दाजुभाइ मदिराको नसासँगै गफिन्छन्। आर्यनले भाइलाई प्रश्न गर्छन्, ‘तीन वर्षअघि नै ब्रेन डेथ भइसकेकी आमालाई किन बचाइराखेको?’
यो संवादले रुखजस्तो वस्तु आमा भएको जानकारी दिएसँगै नाटकले गति लिन्छ।
कौसी थिएटरमा मञ्चनरत नाटक ‘के? अस’ दाजुभाइको जीवन भोगाइ वरिपरि घुमेको छ। जसभित्र भातृत्वदेखि मातृत्त्व र सम्बन्ध उतारचढाव समेटिएका छन्। साथै समाजका समसामयिक विषयवस्तु पनि। प्रजातन्त्रपछिको अस्थिर राजनीतिक परिवेशलाई पनि नाटकले छोएको छ। भग्नावशेष संरचना, विध्वंस अवस्था र उडेका पैसाले गत भदौमा भएको जेनजी आन्दोलन सम्झाउँछ।

पछिल्लो समय युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य छन्। जसले उनीहरू चाहेर पनि बुवाआमासँग बस्न पाइरहेका हुँदैनन्। विदेशबाट उनीहरू पैसा त पठाउँछन्। तर, त्यो पैसाले बुवाआमाको श्वास लम्बिन्छ त? यस नाटकले विदेशिने छोराछोरीलाई नै प्रश्न गर्छ। यद्यपि, नाटकमा उनीहरूको बाध्यतालाई पनि प्रस्तुत गरिएको छ।
पैसाको पछि लाग्दा सम्बन्धको डोरी चुडिएको प्रसंग पनि नाटकमा छ। नाटकले स्वदेशमा बुवाआमा हेरचाह गरेर बस्ने छोराको भावना र मनोदशालाई दर्शाएको छ। उनीहरूको बुवाआमासँगको निकटता र त्यसले पारिरहेको असरलाई बलियो रूपमा प्रस्तुत गरिएको छ।

नाटकमा दुई पात्र मात्रै छन्। जहाँ आर्यनको भूमिकामा इलममणि दीक्षित र असीमको भूमिकामा विजयआनन्द ताम्राकार देखिएका छन्। मञ्चमा उनीहरूको गफगाफ अभिनयभन्दा बढी वास्तविकता लाग्छ। उनीहरूले न मिलाएर बोलेका छन्, न लामा लामा संवाद भनेका छन्। दुवैको अभिनयले दर्शकहरूमा संवेदनासँगै हास्यरस पैदा गर्छ।
नाटकमा बिम्बको बलियो प्रयोग गरिएको छ। आमालाई ठूलो रुखको रुपमा प्रतिबिम्बित गरिएको छ। जसबाट हामीहरू शीतल छहारी पाउँछौँ भनेर बुझ्न सकिन्छ। त्यस्तै, नाटकभरि पुरुष पात्रहरू बोल्छन्। महिलालाई बोल्न नसकेको अवस्थामा देखाइएको छ। जसले समाजमा अझै महिलाको आवाज दबिएको छ भन्ने चित्रण गर्छ।
समग्रमा, डार्क कमेडी शैलीको यस नाटकले दुई पात्र मार्फत मानवीय भावना, अराजकता र मनोविज्ञानलाई खोतल्ने प्रयास गरेको छ। नाटक मंसिर २१ गतेसम्म चल्नेछ।

नाटकलाई कलाकारद्वय इलममणि र विजयआनन्दले संयुक्त रुपमा निर्देशन र लेखन गरेका हुन्। यो नाटक जेनजी आन्दोलनपछि कलाकारले अनुभूत गरेको मानसिक र सामाजिक मनोदशालाई अभिव्यक्त गर्ने तरिकाले तयार गरिएको सुनाउँछन् दीक्षित।
‘जेनजी आन्दोलनमा देश संकटमा पार्ने किसिमले दुईतीन दिनमै के-के भयो, त्यतिबेला निकै अन्योल र त्रास थियो। त्यो अन्योलमा हामी कलाकारका रुपमा के सोच आउँछ? त्यही भावनालाई नाटकमा ल्याउन कोसिस गरेका हौँ,’ उनले भने, ‘मुख्य नाटक जेनजी मुभमेन्टबाट प्रेरित छ। तर, भित्र इतिहासदेखि राजनीति र समाजकै धेरै कुराहरू मिक्स गरेका छौँ। डार्क कमेडीमा मेलोड्रामा छ। हाँस्न पनि, रुन पनि मन लाग्छ। घरायसी कथामा दाजुभाइको इमोसन पनि छ। फोर्थ वाल ब्रेक गरेका छौँ,’ इलममणि भन्छन्।
उनका अनुसार यो नाटक प्रचलित र परम्परागत स्क्रिप्ट लेखन विधिभन्दा पर रहेर तयार पारिएको हो। मञ्चमा प्रस्तुतिको क्रममा जेजे कुरा निस्किन्छन्, त्यसै नयाँ कुरालाई जोड्दै कथा बुनिएको छ।

‘समाजमा जे भइरहेको छ। त्यसैको सेरोफेरोमा कथा बुनिएको भन्न मिल्छ। यस नाटकमा दुईजना केटा मान्छे छन्। एउटा महिला हुनुहुन्छ। तर, उहाँ बोल्नुसक्नुहुन्न। जुन पनि पार्टी हेर्दा महिलाको सहभागिता नभएको जस्तो देखिन्छ। जुन पनि आन्दोलनमा अगाडि धेरैजसो केटा मान्छेहरू देखिन्छन्। देश कसको हो भनेर दुई जना छलफल गरिरहेका छन्, जसले महिलाहरूको आवाज अझै आउन सकेको छैन भन्ने देखाउँछ। देश कसरी बन्छ, जब दाजुभाइनै मिलिरहेका हुँदैनन् भन्ने पनि कथाभित्र छ,’ इलममणिले भने।
विजयलाई एक कार्यक्रममा भेटेको बताउँदै यस नाटकमा सहकार्य गर्न जुरेको उनले सुनाए। यस नाटकबाट आएको फरक प्रतिक्रियाले खुसी लागिरहेको उनको भनाइ छ।
भन्छन्, ‘अडियन्सले आफ्नो तरिकाले बुझ्न पाइयो। कति कुरा स्पछन् छन्, कति छैनन्। कतिले ह्याङओभर भयो भन्नुभयो। कतिले नयाँपन फिल गर्न पायौँ भनिरहनुभएको छ। फरकफरक प्रतिक्रिया पाउँदा खुसी लागिरहेको छ। नाटक हेरिसकेपछि अडियन्सले सोचून् न त। यसमा बारेमा गफ गरून् भनेर तयार पारेका हौँ।’

Shares

प्रतिक्रिया