राजनीति


केही हतियार र कैदी फिर्ता नआएको आधारमा चुनावबारे शंका गर्नुहुँदैन : गृहमन्त्री अर्याल

केही हतियार र कैदी फिर्ता नआएको आधारमा चुनावबारे शंका गर्नुहुँदैन : गृहमन्त्री अर्याल

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १२:२०, धनगढी

गृहमन्त्री ओमप्रकाश अर्यालले केही हतियार फिर्ता नआएको र केही कैदी फरार रहेको आधारमा फागुन २१ गतेको निर्वाचन नहुने भन्ने ‘शंका र भ्रम नफैल्याउन’ आग्रह गरेका छन्।

मंगलबार सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले भने, ‘सरकार तोकिएको मितिमै भयमुक्त, स्वच्छ र स्वतन्त्र वातावरणमा निर्वाचन गराउन कटिबद्ध छ। कुनै पनि बहानाले निर्वाचन रोकिँदैन।’

उनका अनुसार देशभर ४,५५२ फरार कैदीमध्ये जघन्य अपराध गर्ने संख्या न्यून छ भने ७२७ थान हतियार सरकारले फिर्ता ल्याइसकेको छ।

सुशासन, विधिको शासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा सरकार दृढ रहेको बताउँदै मन्त्री अर्यालले भने, ‘भदौ २३-२४ का घटनापछि सुरक्षा संयन्त्रको नियमित काममा असर परे पनि अब अवस्था सामान्य बन्दै गएको छ। सबैको सहयोगका लागि धन्यवाद दिन चाहन्छु।’

वार्ता, संवाद र छलफललाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले थपे, ‘हामी कसैलाई काखा-पाखा गर्दैनौँ। सबैका कुरा सुन्छौँ र सुन्दै जानेछौँ। यो सरकार सबैको साझा हो।’

चुनाव तयारीका क्रममा केही मनोवैज्ञानिक चुनौती देखिए पनि सरकार कानून कार्यान्वयनमा दृढ भएको बताउँदै अर्यालले भने,
‘अराजकतालाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छौँ। मनोवैज्ञानिक सुरक्षाका चुनौतीका सन्दर्भमा पनि ढुक्क हुन आग्रह गर्छु।’

सबै दल र नागरिकलाई समन्वय-सहकार्यका लागि आग्रह गर्दै उनले भने, ‘देश बनाउने अभिभारा सबैको हो। जनतामा प्रत्यक्ष प्रभाव पर्ने साना कामलाई प्राथमिकता दिनुपर्छ, तब मात्रै ठूलो परिवर्तनप्रति विश्वास जाग्छ।’

सुरक्षा निकायप्रतिको प्रशंसा गर्दै अर्यालले भने ‘छिटपुट घटनालाई लिएर सम्पूर्ण संस्थाको मनोबल घटाउनु हुँदैन। कमी-कमजोरीलाई सरकार सुधार गर्दै गएको छ।’

सुरक्षा संयन्त्रलाई निष्पक्ष र व्यावसायिक वातावरण उपलब्ध गराइएको उल्लेख गर्दै उनले थपे,‘हस्तक्षेपविहीन, स्वायत्त र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निरन्तर संस्थागत गरिनुपर्छ। सरुवा-बढुवामा निष्पक्षता अपनाएका छौँ, गुनासो आउने अवस्था छैन।’

अर्यालले गोष्ठीबाट आउने निष्कर्ष कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा स्रोत-साधन सहयोग गर्ने प्रतिवद्धता समेत जनाए।

गोष्ठीमा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राज्यका सबै शक्ति लागेर निर्वाचनको वातावरण बनाउने प्रयास गरिरहेको बताए।

‘राज्यका सबै शक्ति एकीकृत भएर निर्वाचनको वातावरण बनाउनेतर्फ लागेका छौँ। सुरक्षा फौज नै देशको अन्तिम भरोसा हो,’ शाहले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad