दिनेश राउत निर्देशित प्रेम कथानक फिल्म ‘कुमारी’ को पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक भएको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गर्दै आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले चलचित्रले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ।
यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ प्रस्तुति गरिएको थियो, जसले सोसल मिडियामा ठुलो चर्चा बटुलेको थियो। गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत हाल युट्युब र टिकटकमा विशेष गरी ‘जेन-जी’ पुस्ताबिच निकै लोकप्रिय बन्दै गएको छ।
फिल्मको मुख्य भूमिकामा अबिषेक खड्का र आकृति राजभन्डारी रहेका छन्। दुवै कलाकार यसै चलचित्रमार्फत मुख्य भूमिकामा डेब्यु गर्दै छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकार पनि चलचित्रमा देखिनेछन्।
‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म निर्देशन गर्दै आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताएका छन्। उनका अनुसार ‘कुमारी’को प्रोजेक्ट ‘पुजार सार्की’भन्दा अघि प्रारम्भ भए पनि विभिन्न कारणले अहिले आएर मात्र बनेको हो। ‘कुमारी’मा चार गीत रहनेछन्।
सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने सङ्गीतमा लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सहभागिता रहेको छ। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्।
Shares

प्रतिक्रिया