नेपाल सरकारले श्रीलंककामा बाढीका कारण देशभर व्यापक मात्रामा भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलंका सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो ।
द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकार श्रीलंकासँग दृढतापूर्वक उभिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल सरकारले दिवंगतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ।
ऐक्यबद्धताको संकेतस्वरूप नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ।
यस दुःखद् घटनाबाट पुनःउठ्ने क्रममा श्रीलंकाका जनताको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार तथा नेपाली जनता दृढ विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।
श्रीलंकामा आएको भीषण बाढी र पहिरोका कारण अहिलेसम्म कम्तीमा १९३ जनाको मृत्यु भइसकेको छ भने २०० भन्दा बढी बेपत्ता छन्।
Shares

प्रतिक्रिया