राजनीति


‘एआई कन्सोर्टियम’ बनाउँदै बालेन शाह

नेपालमा एआईको प्रयोग वित्तीय क्षेत्रमा सबैभन्दा बढी, त्यसपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा
‘एआई कन्सोर्टियम’ बनाउँदै बालेन शाह

काठमाडाैं महानगरपालिकाका मेयर बालेन साह


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १७:५५, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउन कृत्रिम बौद्धिकता (एआई) विशेषज्ञहरूको एक छुट्टै टोली गठन गर्ने तयारी थालेका छन्। 

मेयर शाहले सूचना प्रविधि क्षेत्रका विज्ञ र अनुभवीलाई छलफलमा बोलाएका हुन्। 'मेयर सापले डिजिटल गभर्नेन्स विज्ञ, डेटा साइन्टिस्ट र कोडिङमा काम गर्ने सफ्टवेयर डेभलपरसँग छलफल गर्ने तयारी गरिरहनु भएको हो’, महानगरपालिकामा प्रशासन समेत हेर्ने मेयर बालेन निकट एक कर्मचारीले नेपालखबरसँग भने, ‘सबै काम सेड्युलअनुसार भए पर्सी मिटिङ हुन्छ।’  

उनका अनुसार दिगो शासन प्रणाली, स्मार्ट सार्वजनिक सेवा र व्यवस्थित शहरी अर्थतन्त्र निर्माणका लागि एआई रणनीतिको विकास तथा उपयोग गर्ने उद्देश्यले 'एआई कन्सोर्टियम' टिम गठन गर्न लागिएको हो। 

'एआई कन्सोर्टियम'का लागि महानगरको कार्यालय काठमाडौं प्लाजामा मंसिर १४ गते बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गरिरहेका विज्ञ समेत सहभागी हुनेछन्।

मेयर शाहले आफ्नो कार्यकालभर प्रविधि र नवप्रवर्तनलाई नगर प्रशासनको केन्द्रमा राख्ने प्रयास गर्दै आएका छन्। मेयर बनेदेखि नै उनले सुशासन, पारदर्शिता र डिजिटल सोलुसनमार्फत नगर व्यवस्थापनमा सुधार गर्न कोसिस गरिरहेका छन्।

यसअघि अमेरिकी राजदूतसँग भेटमा उनले नेपाली युवालाई अमेरिकी कम्पनीहरूमा रोजगारीका अवसर सिर्जना गर्न सूचना प्रविधि तालिम कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव समेत राखेका थिए। उनको नेतृत्वमा काठमाडौं महानगरले स्मार्ट टिकेटिङ प्रणाली, अनलाइन सेवा र नगर परिषद्का बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने जस्ता डिजिटल पहल गरेका थिए।

नेपालमा एआईको प्रयोग बित्तीय क्षेत्रमा सबैभन्दा बढी भइरहेको छ, त्यसपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयोग बढ्दो छ। यदि यो पहल महानगरको सेवा प्रवाह र कार्यक्षमतामा सुधार ल्याउन केन्द्रित भयो भने यसले नगर प्रशासनको आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। 

मेयर शाहले भने आफ्ना कार्यहरू पारदर्शिता र सुशासनका लागि भएको बताउँदै आएका छन्। भ्रष्टाचारविरुद्ध कठोर अडानका लागि उनी  सामाजिक सञ्जालमा सक्रिय रहने गरेका छन्। बालेनको नेतृत्वमा प्रविधि र नवप्रवर्तनको बाटोमा अघि बढिरहेको महानगरका लागि यो एआई योजनाको पहल अर्को महत्त्वपूर्ण कदम हुन सक्छ।

बालेनको यो पहलको उद्देश्य महानगरको कार्य सञ्चालन सुधार गर्न हो वा व्यक्तिगत आइटी गतिविधि व्यवस्थित गर्नका लागि हो भन्नेमा कतिपय वडा अध्यक्ष शंका व्यक्त गर्छन्। दोहोरो अंकको वडाका एक जना वडाअध्यक्षले नेपालखबरसँग भने, 'यसको उद्देश्यका बारेमा मेयर बालेनलाई विस्तृतमा थाहा होला। महानगरपालिकाको काम गर्न खोजेको हो वा अफ्नै निजी कामका लागि पैसा खर्च गर्न लागिएको हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad