अध्यादेश प्रकरणपछि सत्तारुढ नेकपाभित्र चुलिएको विवाद सांसद तानातानको विन्दुसम्म आइपुगेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पद टिकाउन संसदीय दलमा बहुमत पुर्याउने प्रयासमा छन्।
नेकपाका जम्मा १ सय ७४ सांसदमध्ये संसदीय दलमा बहुमतका लागि ८७ जना सांसद आवश्यक पर्छ। ओलीनिकट ७८, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट ५३ र माधवकुमार नेपालनिकट ४३ सांसद छन्।
त्यसैले प्रचण्ड–नेपाल गठबन्धनका केही सांसद आफ्नो पक्षमा तानेर संसदीय दलमा बहुमत सिद्ध गर्ने प्रयासमा प्रधानमन्त्री ओली छन्।
ओलीले सोमबार, मंगलबार र बुधबार सांसदहरुलाई बालुवाटारमा बोलाएर आफ्नो पक्षमा माहोल बनाउन र जुनसुकै परिस्थितिको लागि तयार रहन निर्देशन दिएका थिए। उनले सांसदहरुको हस्ताक्षर समेत संकलन गरेका छन्।
प्रचण्ड–नेपाल गठबन्धनका केही सांसदहरु ओलीको पक्षमा लागेको चर्चा पनि चलेको थियो।
तर, प्रचण्ड–नेपाल गठबन्धनका सांसदहरु एक ढिक्का रहेको नेपालनिकट एक नेताले दाबी गरे। आफूहरुसँग रहेका ९६ जना सांसदमध्ये कोही पनि दायाँबायाँ नलागेको उनले बताए।
‘भैँसेपाटी गठबन्धनका सबै सांसद एकढिक्का हुनुहुन्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘केही साथीहरुलाई यताउता पार्न खोजिएको भन्ने छ। तर, उहाँहरुले अन्तिममा गठबन्धनमा खुल्छौं भनेर हामीलाई स्पष्ट पार्नुभएको छ। कोही पनि दायाँबायाँ लाग्नुभएको छैन।’
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सचिवालय सदस्यको पक्षमा ९६ सांसद रहेको उनले बताए।
तर, गठबन्धनमै रहेका भनिएका उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले सार्वजनिक रुपमै सरकार ढाल्न उचित नहुने बताएका छन्।
सोमबार प्रधानमन्त्री ओलीले आफू निकटका २५ जना सांसदलाई बोलाउँदा भट्ट पनि बालुवाटार पुगेका थिए। त्यसपछि उनले खेमा परिवर्तन गरेको अनुमान गरिएको थियो।
तर, उनी प्रचण्ड–नेपाल गठबन्धनमै रहेको प्रचण्डनिकट एक नेताले बताए।
प्रचण्ड निकट सांसद को–को तान्न सक्छन् ओलीले?
रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह लगायतका सांसदहरु ओली समूहको सम्पर्कमा रहेको चर्चा छ। त्यसैले प्रधानमन्त्री ओलीले ती सांसदलाई आफूतर्फ ढल्काउन सक्ने सम्भावना देखिन्छ।
तर, अहिले जे चर्चा भएपनि निर्णायक अवस्थामा उनीहरु प्रचण्डको पक्षमै लाग्ने स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए।
‘व्यक्तिगत रुपमा केही असन्तुष्टि हुनसक्छ,’ पौडेलले भने, ‘तर उहाँहरु गठबन्धनमै रहनुहुन्छ।’
नेकपाको सचिवालय बैठक बुधबार ५ बजे डाकिएको छ। तर, उक्त बैठकअघि नै थुप्रै सांसदहरु यताउता गर्न सक्ने सम्भावनालाई ओली र भैँसेपाटी गठबन्धनले नजिकबाट हेरिरहेको नेता मातृका यादव बताउँछन्।
प्रधानमन्त्री ओलीले गत साता दल विभाजनको व्यवस्था खुकुलो पार्नेगरी राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी गरी दुई विधेयक ल्याएपछि नेकपाको आन्तरिक विवाद चर्किएको हो।
बलजफ्ती विधेयक ल्याएपछि त्यसबारे छलफल गर्न नेताहरुले वैशाख १२ गते लिखित रुपमा स्थायी समिति बैठकको माग गरेका थिए।
उक्त मागमा २० जना स्थायी समितिका सदस्यले हस्ताक्षर गरेका थिए। तर, प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक राख्न आनाकानी गर्दै आफ्नो पक्षमा माहोल पार्ने तानाबाना बुनेको गठबन्धन पक्षधरले आरोप लगाउँदै आएको छ।
प्रचण्ड–नेपाल गठबन्धनमा रहेका १२ जनाले स्थायी समिति सदस्यले माधवकुमार नेपाललाई अगाडि बढ्न सुझाव पनि दिएका थिए। ओलीले भने आफूलाई सत्तामा टिकाउने सर्तमा नेपाललाई पार्टी अध्यक्ष बनाउने, मन्त्री, मुख्यमन्त्री फेर्नेलगायत प्रस्ताव राखेका थिए। त्यसलाई नेता नेपालले अस्वीकार गरेका थिए।
मंगलबार साँझ प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको थियो। तर, छलफलमा कुनै सहमति हुन सकेन।

प्रतिक्रिया