राजनीति


ओलीको दाबीः एमालेको महाधिवेशन भाँड्ने प्रयास हुँदै छ

ओलीको दाबीः एमालेको महाधिवेशन भाँड्ने प्रयास हुँदै छ

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १७:४७, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने चेतावनी दिए।

एमालेका महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धामा गर्ने घोषणा गरेका छन्। 

अध्यक्ष ओलीले सो महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्ने बताए। फराकिलोपन र फराकिलोपनका साथ सो महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो।

उनले सो महाधिवेशन भव्यताका साथ सम्पन्न हुने दाबी समेत गरे। 

अध्यक्ष ओलीले भने, ‘एमालेको महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ। र म देख्दैछु, सुन्दैछु। त्यसलाई भाँड्नका लागि विभिन्न प्रयासहरू भइरहेका छन्। म सबैलाई चेतावनी भनौँ कि चेतावनी भन्ने शब्द अलि चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु–त्यस प्रकारको सोच नै नबनाउनुस्। नेकपा एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुस्। एमाले आफ्नो महाधिवेशन गर्छ। आफ्ना ठाउँमा बसेर गर्छ।’ 

ओलीले थपे, ‘अब म चाहन्छु–यस महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔँ। फराकिलो मन, फराकिलोपनका साथ यस महाधिवेशनलाई लैजाऔँ। मेरो आग्रह छ। विभिन्न सामाजिक संजालहरूमा केही भ्रमहरू फिँजाइएको देख्छु। त्यस भ्रमहरूमा नलाग्नका लागि म साथीहरूलाई आग्रह गर्न चाहन्छु। कोही पनि नलागुन् यस्ता कुरा।’

अध्यक्ष ओलीले एमालेले महाधिवेशनमार्फत मुलुकको राष्ट्रियता र स्वाभिमानलाई अझै उचाईमा पुर्‍याउने दाबी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad