नेकपा (एमाले) का नेता महेश बस्नेतले 'नेसनल भोलेन्टियर फोर्स' पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन्।
काठमाडौंको बबरमहल क्षेत्रमा एमालेको भोलेन्टियर फोर्सको र्यालीमा सहभागी बस्नेतले 'जेनजी' आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अब मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको जिकिर गरे।
समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन नेसनल भोलेन्टियर फोर्सले आफ्नो गतिविधि केन्द्रित गर्ने बस्नेतको दाबी छ। असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उदेश्यका साथ भोलेन्टियर फोर्स अघि बढ्ने उनले बताए।
माइतीघर मण्डलमा युवाहरू भेला भएर बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा पुगेर सभामा परिणत भएको थियो। नेसनल भोलेन्टियर फोर्समा एकजना कमान्डर र दुईजना सहायक कमान्डरको व्यवस्था गरिएको एमालेले जनाएको छ।
Shares

प्रतिक्रिया