तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन्।
जनवादी गायककाे पहिचान पनि बनाएकी बलंपाकी र उनकी पत्नीसमेत रहेकी माओवादी केन्द्रीय सदस्य सीता दाहालले हिजाेमात्रै प्रचण्डको साथ छाडेर जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा आवद्ध भएको घोषणा गरेका हुन्।
महोत्तरी स्थायी घर भएका बलम्पाकी दम्पती तीन वर्षअघि मात्रै केपी ओली नेतृत्वको एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
बलम्पाकी माओवादी विभाजन हुँदा मोहन वैद्यतिर लागेका थिए। पछि रामबहादुर थापा बादलसँगै उनी फेरि माओवादीमै फर्किएका थिए। पछि उनी बादललाई पनि एमालेमै छाडेर माओवादीमा आएका थिए।
अहिले फेरि प्रचण्डको पनि साथ छाडेपछि बलम्पाकीलाई अस्थिर नेताको आरोप लाग्न थालेको छ। यसै सन्दर्भमा नेपालखबरले बलम्पाकीसँग गरेको संक्षिप्त वार्ता:
तपाईँले फेरि प्रचण्डको साथ किन छाड्नु भयो?
मैले प्रचण्डको साथ छाडेको होइन, म उहाँहरूको एकता प्रक्रियामा नगएको मात्रै हो। हामी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमामा जोडिने अठोटसहित उहाँहरूको एकता प्रक्रियामा सहभागी नभएका हाैँ।
उहाँहरूको पार्टी विधिमा चलेन। यसअघि प्रचण्ड नेतृत्वको पार्टीमा केन्द्रीय सदस्य धेरै थिए, तर सबै बेरोजगार। कसैकाे कार्यविभाजन, जिम्मेवारी तोकिएको थिएन। अहिले बन्ने पनि त्यस्तै पार्टी हो। फेरि चुप लागेर बस्न नसक्ने मान्छे परेँ म। प्रचण्ड नेतृत्वको पार्टीमा सैद्धान्तिक, राजनीतिक प्रशिक्षण छैन। बिचार, सिद्धान्तका कुरा एकातिर, काम अर्कोतिर छ। फेरि जेनजी आन्दोलनको सन्देशलाई पनि पार्टीले ‘क्यास’ गर्न सकेन। यो एकता चुनाव जित्ने वा क्रान्तिकारी ध्रुविकरण कतैबाट पनि उपयुक्त देखिँदैन। जेनजी आन्दोलनपछिको संकटमा ‘फेस सेभिङ’ गर्न मात्रै यो एकता गरिएको हो।
पहिलाको माओवादी केन्द्रभित्र नै चारसय भन्दा धेरै केन्द्रीय सदस्य थिए। उत्तिबेलै पार्टी भद्रगोल अवस्थमा थियो। अब एकताकाे नाममा तीन हजार केन्द्रीय सदस्य बनाउने तयारी छ। माग्नेजति सबैलाई केन्द्रीय सदस्य बनाउने, काम चाहीँ नदिने। कुनैपनि प्लान र विधि छैन। त्यहाँ चिया गफ बाहेक केही हुँदैन। अब पुरानो तौरतरिकाले पार्टीहरू चल्दैनन्।
तपाईँको यत्रो असन्तुष्टि रहेछ, प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग छलफल गर्नु भएन?
छलफल धेरै भए, तर सकारात्मक परिणाम आएन। नारायणकाजी दाइसँग त पछिल्लो समय पटकपटक छलफल भएको थियो। अन्तिममा नयाँ ढंगले जाने भन्ने निष्कर्षमा पनि हामी पुगेका थियौँ। त्यतिबेला मैले त्यसको नेतृत्व तपाईँ नै गर्नुस् पनि भनेको थिएँ नारायणकाजी दाइलाई। उहाँले गृहमन्त्री हुँदा निर्वाह गर्नु भएको भूमिकाको कारण सर्वसाधारण नागरिकमा पनि राम्रो सन्देश गएको छ। तपाईँ निष्कलंकित मान्छे पनि हो, वैचारिक नेता पनि हो भनेको थिएँ मैले। यो तपाईँको लागि अवसर र चुनौति दुबै हो, आँट गर्नुस् है भनेको हो मैले। तर, उहाँले त्यो हिम्मत गर्नु भएन। अब घिसिपिटी ढंगले दास भएर त्यहाँ बस्न सकिँदैन भनेर म नेपाली कम्युनिस्ट पार्टीमा गइँन। माथिबाट दुईचार जनाले निर्णय गर्ने, त्यसलाई स्वीकारेर तलबाट हेरेर बस्ने तरिका मलाई ठिक लागेन।
हिम्मत गर्नुस् भन्दा रायणकाजी श्रेष्ठले चाहीँ तपाईँलाई के भन्नुभयो?
उहाँले हामी नयाँ ढंगले जाँदा हस्तक्षेपकारी भूमिका खेल्न सकिँदैन। त्यसैले एकचरण यहीँ बसौँ भन्ने उहाँको आग्रह थियो। हामीले यथास्थितिवादमा नबस्ने भन्यौँ। मलाई पार्टीमा दाेस्रो नागरिक जस्तो भएर बस्नु पनि हुँदैन भन्ने लाग्यो। पार्टी बन्ने हो भने पहिला भूगोल बन्नुपर्याे। जनतासँग एकाकार भएर जानुपर्याे भनेर अध्यक्ष प्रचण्डलाई पनि धेरै भनेँ। पटकपटक भन्दा उहाँले हुन्छ भन्ने तर काम नहुने अवस्था थियाे।
पछिल्लाे समय कुराकानीको लागि प्रचण्डको सचिवालयमा पटकपटक कुरा गरेको थिएँ। तर त्यहाँ एकप्रकारको घेराबन्दी छ। अब त झन् तीन हजार केन्द्रीय सदस्य हुँदा त्यहाँ त्यस्ताे घेराबन्दी झन् बढ्छ। यसअघि महोत्तरीमा प्रकाश पोखरेल इन्चार्ज हुनुहुन्थ्याे। तर प्रचण्ड महोत्तरीमा जाँदा उहाँलाई जानकारी नै नगराउने समस्या थियाे। यो कस्तो पार्टी हो? पार्टी इन्चार्जलाई नगर अध्यक्षले मिटिङको लागि बोलाउँछ। यसरी पार्टी चल्छ? यो गज्याङ पार्टीमा विधि स्थापना गर्न धेरै लडियो, कुरा राखियो। तर, विधिको लागि मात्रै लडाइँ भयो, पार्टी बन्ने अवस्था देखिएन।
जनार्दन शर्माको समूहमा तपाईँको जिम्मेवारी के हुन्छ अब?
त्यो त छलफल हुँनै बाँकी छ। मैले हिजो मात्रै घोषणा गरेको हो। त्यो पार्टी बन्ने प्रक्रियामै छ। धेरैतिरबाट मान्छेहरू जोडिँदैछन्। पदमात्रै ठूलो कुरा होइन। हामी हरेक कुरा छलफल गरेर अघि बढ्छौँ।
तपाईँ तीन वर्षअघि मात्रै एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नु भएको थियो, अहिले फेरि प्रचण्डलाई पनि छाड्नु भयो। यसले त तपाईँलाई अस्थिर भयाे भन्ने आरोप लाग्ने भयो नि?
मलाई अस्थिर भनेर आरोप लगाउने पनि धेरै छन्। तर, म चाहीँ आफूलाई अस्थिर होइन, गतिशील मान्छु। मैले एमालेमा बसेर त्यहाँको गोलचक्कर पनि हेरेँ। माओवादीमा बसेर भद्रगोल पनि हेरेँ। गुटगत स्वार्थ हेरेँ। म फेरि त्यतिबेला एमालेमा गएको पनि होइन। सर्वोच्चले नेकपा फुटाएर यताउता गरेपछि यी बुढाहरू कति यताउता गर्छन् भन्ने लागेर केही समय एमालेमा बसेको मात्रै हो। मलाई नेतृत्वले नै एमालेमा लगेको थियो। नेकपासहितको एमाले हो भने हामी यहाँ रहन्छौँ भनेर म त्यहाँ बसेको थिएँ। तर त्यो नभएपछि मैले एमाले छाडेको हाे।
मलाई हेर्नेहरूले यता र उता गएको भनेर अस्थिर देख्छन्। हिजो नेकपा बन्यो, आज नेपाली कम्युनिष्ट पार्टी बनेको छ। यसलाई चाहीँ हामीले के भन्ने? यसलाई प्रचण्डको स्थिरता भन्न मिल्छ? प्रचण्डको पछि लागिरहने, यथास्थितिमा रमाउनेलाई स्थिर भन्ने, नयाँ विचार, सोच र गतिमा अघि बढ्न प्रयास गर्नेलाई अस्थिर भन्न मिल्दैन। अस्थिर र स्थिरताको यो भाष्य नै गलत छ।
तपाईँलाई अहिले आएर जनार्दन शर्मा चाहीँ कसरी ठिक लाग्यो?
सांगठानकि अधिकार र नेतृत्व विकासको विषयमा अहिले मलाई जनार्दन शर्माको कुरा ठिक लागेको छ। बाँकी कुरा छलफल गर्दै जाउँला।
Shares

प्रतिक्रिया