जेनजी आन्दोलनपछि उत्पन्न समस्याको समाधानका लागि नेपाली कांग्रेसले नेतृत्व लिन सक्ने गरी उपयुक्त निर्णय गर्न समय लागेको कांग्रेसका कार्यावाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्।
एक महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्णयमा पुग्न सकेको छैन। कांग्रेसको महाधिवेशन आउँदो फागुन २१ मा तोकिएको प्रतिनिधि सभाको निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा विवाद छ। त्यस्तै, महाधिवेशन कि विशेष महाधिवेशन भन्ने पनि सहमति जुट्न सकेको छैन।
त्यसैले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिनादेखि अनिर्णित बनेको छ। बैठक लम्बिँदै जाँदा आलोचना पनि भइरहेको छ।
त्यसबारे सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्टीकरण दिँदै कांग्रेस कार्यवाहक सभापति खड्काले उपयुक्त निर्णय लिनुपर्ने भएकाले समय लागेको बताएका छन्। खड्काले भनेका छन्, ‘इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, हाम्रा विगतका गल्ति-कमजोरी स्विकारी नेपाली जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एक पटक कांग्रेसले लिन सक्ने गरि उपयुक्त निर्णय गर्न समय लागेको छ।’
केन्द्रीय कार्यसमितिको निर्णयका लागि केही समय धैर्य गर्न पनि आग्रह गरेका छन्। खड्काले भनेका छन्, ‘साथीहरू सबैले एकाताबद्ध भएर यो महत्त्वपूर्ण मर्मलाई बुझिदिई धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध छ।’
उनले आफ्नो विषयमा गरिएका टिप्पणीको भने सम्मान गर्ने बताएका छन्। सार्वजनिक रुपमा हुने टिप्पणी मार्गदर्शक बन्ने उनको भनाइ छ। उनले भनेका छन्, ‘मेरो बारेमा सार्वजनिक रुपमा यहाँहरूले गर्नु भएको जस्तोसुकै टिप्पणीलाई मेरो सदा सम्मान छ र रहनेछ। यिनै टिप्पणीहरू नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छ्न।’
Shares

प्रतिक्रिया