राजनीति


प्रदीप पौडेलको प्रस्ताव: १६ वर्ष पुगेपछि मतदानको अधिकार दिऔँ, उम्मेदवार बन्न २५ वर्षको व्यवस्था हटाऔँ

प्रदीप पौडेलको प्रस्ताव: १६ वर्ष पुगेपछि मतदानको अधिकार दिऔँ, उम्मेदवार बन्न २५ वर्षको व्यवस्था हटाऔँ

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १५:२४, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोग तथा सरकारसँग माग गरेका छन्। धेरै स्थानहरुमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै उनले कार्तिक मसान्तसम्मको अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी हुनुपर्ने बताए।

बिहीबार एक भिडियो वक्तव्य जारी गर्दै पूर्व मन्त्री पौडेलले भने,‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन। फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ।’ 

दर्ताको समय पनि कार्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरु समूहका व्यक्तिहरु समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको उनले बताए।

‘निर्वाचन आयोग र सरकारलाई प्रचार भएअनुसार सहजीकरण भएको छैन। नामावली दर्ताका लागि गएकाहरुले सजिलोसँग नाम दर्ता गराउन सकिरहनुभएको छैन,' उनले भने, 'त्यसैले कार्तिक मसान्तसम्मको समय बढाएर थप समय उपलब्ध गराउनु जरुरी छ।'

नेता पौडेलले नाम दर्ता गर्ने प्रयोजनका लागि राखिएका कार्यालयमा काम छिटो र व्यवस्थित गर्न तथा थप जनशक्ति र उपकरणको व्यवस्था गरेरै भए पनि छोटो समयमा धेरै काम हुने प्रभावकारी व्यवस्था मिलाउन अनुरोध गरे। यसका लागि पनि हाल तोकिएको कात्तिक मसान्तसम्मको अवधि थप गर्नु आवश्यक रहेको उनले तर्क गरे।

नेता पौडेलले आफैँ प्रत्यक्ष रुपमा सहभागी भएर आफ्ना लागि चाहेअनुसारको नेतृत्व प्रतिनिधि छान्न पाउने अवसर भएकाले मतदाता नामावली दर्ता गरेर सहभागी बन्न जेनजी तथा सबै उमेर समूहका नागरिकसमक्ष आग्रह गरे। 

नेता पौडेलले सबै उमेर समूहका चेतना भएका नागरिकलाई निर्वाचनमा सहभागी हुने स्थिति निर्माणका लागि बढी भन्दा बढी नागरिकको सहभागिताका लागि भन्दै मतदाता नामावलीमा सहभागी हुने उमेर समूह १६ वर्ष कायम हुनुपर्ने बताए। 

यसले जागरुक नागरिकलाई मतदानमा सहभागी हुने अवसर प्रदान गर्ने र अधिक सहभागीतामूलक हुने उनको तर्क छ।

नेता पौडेलले सबै उमेर समूहका चेतना भएका नागरिकलाई निर्वाचनमा सहभागी हुने स्थिती निर्माणका लागि हालको उम्मेदवार बन्न २५ वर्ष हुने व्यवस्था पनि घटाउन जरुरी रहेको तर्क गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad