तत्कालीन नेकपा (माओवादी केन्द्र) को विभिन्न प्रवास संगठनमा रहेका १० जना नेताले नेपाली कम्युनिष्ट पार्टीबाट अलग रहेको घोषणा गरेका छन्।
भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त, एसिया प्रवास संगठन इन्चार्ज ओम शर्मासहितका नेताहरूले नवगठित नेकपासँगको सबै संगठनात्मक सम्बन्ध तोडेको जनाएका छन्।
बुधबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले पार्टी नेतृत्व व्यक्तिवादी, सत्ताकेन्द्रित र विचलित भएको आरोप लगाउँदै पार्टीबाट सम्बन्धविच्छेदको घोषणा गरेका हुन्।
प्रवासी नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सत्ताको केन्द्रमा राखिराख्न मात्र एकताको तुरुप फ्याँकेको आरोप लगाएका छन्।
उनीहरूले हालैको एकतालाई राजनीतिक रूपमा अप्रासंगिक भइसकेका केही पात्रहरूलाई जोडजाम गरेर फेरि एकपटक आफूलाई कुर्चीमा पुऱ्याउने भित्री उद्देश्यबाट प्रेरित रहेको दाबी गरेका छन्।
‘एकताको नाममा वृद्धाश्रम खोलिएको छ। भ्रष्टाचारको मुद्दा खेपिरहेका अभियुक्तहरूलाई सारथि बनाएर जग हँसाउने काम भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
नेताहरूले पार्टीको विधानमा २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि ७०० भन्दा बढीलाई मनमौजी तरिकाले नियुक्ति गरिएको र हाल ३००० भन्दा बढीको केन्द्रीय समिति बनाउने प्रपञ्च रचिएको भन्दै संगठनात्मक अराजकता बढेको बताएका छन्।
पार्टी परित्यागको घोषणा गर्नेहरूले अब जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ मा आबद्ध भएर अगाडि बढ्ने जनाएका छन्। उनीहरूले विगत दुई दशकदेखि सत्ताको शीर्षस्थानमा रहेर मुलुकलाई दिशाहीन बनाउने पुराना नेताहरूप्रतिको मोह त्यागी नयाँ दृष्टि र कार्यक्रमसहितको जनमुखी वामपन्थी आन्दोलनमा सहभागी हुन अन्य नेताकार्यकर्तालाई आह्वानसमेत गरेका छन्।
सम्बन्धविच्छेदको घोषणा गर्नेहरू अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका प्रवक्ता दिल निशानी मगर पनि छन् । यस्तै रामहरि पुडासैनी, धर्मराज खतिवडा, ईश्वर पौडेल, बाबुराम सापकोटा र इन्जिनियर प्रतीक पोखरेलले पनि पार्टी छाडेका छन्। उनीहरू माओवादी केन्द्रको प्रवासअन्तर्गत भारत, एसिया, युरोप, अष्ट्रेलियालगायतका क्षेत्रमा विभिन्न जिम्मेवारीमा थिए।
Shares

प्रतिक्रिया