दस महिनादेखि पार्टीविहीन रहेका भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टी भित्रिँदा निकै हर्षित देखिन्थे। २०८१ पुस १० गते नेकपा एमालेले साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि रावलको कुनै पार्टी थिएन।
दौरा–सुरुवाल–कोटमा ठाँटिएर बुधबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा पुगेका उनलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्दा अँगालो हाले। साथमै थिए, सहसंयोजक माधवकुमार नेपाल थिए, जोसँग २४ वर्ष एमालेमा निकट रहेर रावलले काम गरेका थिए।
तर, २०७८ भदौमा नेपालले एमाले विभाजन गर्दा भने रावलले साथ दिएनन्, एमालेमै रहेर अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गर्न थाले।
त्यसको तीन वर्षमै ओलीले पार्टीबाट निकालिदिएपछि उनै नेपालसँग जोडिन पुगेका हुन् रावल। नेपाली कम्युनिस्ट पार्टीमा नेपाल दोस्रो र रावल छैटौँ वरीयतामा छन्। त्यस बीचमा एमाले पृष्ठभूमीकै नेताहरू झलनाथ खनाल तीन र वामदेव गौतम चौथो वरीयतामा छन् भने पाचौँ नम्बरमा छन् माओवादीका नारायणकाजी श्रेष्ठ।
राष्ट्रिय सभागृहको कार्यक्रममा रावलको ‘बडी ल्यांग्वेज’ रोचक देखिन्थ्यो। उनी घरी ल्यापटपमा केही टिपिरहन्थे, घरी मोबाइलबाट सेल्फी खिचिरहन्थे। बोल्दा उनले मुठी कसेर लालसलाम गरे र कार्यक्रमभर मुस्कुराइरहे।
नेकपाका नेताहरूसँग चार वर्षपछि एउटै मञ्चमा बस्न र विचार मन्थन गर्न पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लागेझैँ भएको रावलले बताए। बलियो राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, आर्थिक तथा सामाजिक रूपान्तरणलाई सशक्त रूपमा अघि बढाउने उनले संकल्प गरे।

रावललाई पगाल्ने प्रचण्डको त्यो संवाद
जेन–जी आन्दोलनपछि दस दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको थियो। ६ महिनामा महाधिवेशन गर्ने लक्ष्य राखेको यो दलमा रावललाई ल्याउन उनीसँग संयोजक प्रचण्डले पटकपटक छलफल गरे।
कम्तीमा चार पटक भेटेर र फोनमा कुराकानी भएपछि उनी आउन राजी भएको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं निकट रहेर प्रचण्डलाई सहयोग गरिरहेका रामप्रसाद सापकोटा बताउँछन्।
‘यहाँसम्म कम्युनिस्ट आन्दोलनमै रहियो। छोड्ने बेलामा एकै ठाउँ उभिएर एकत्रित होऔँ,’ प्रचण्डले रावलसँग भने, ‘एकीकृत गरिदिएर बाँकी नयाँ पुस्तालाई जिम्मा दिऊँ, बाँकी अभिभारा उनीहरूले पूरा गर्छन्। तर, टुक्राटुक्रा पार्टी बनाएर कम्युनिस्ट आन्दोलन र पार्टीहरू विघटन हुने अपजसको भारी हामी नबोकौँ।’
त्यसपछि रावल दस्ताबेज पढेर सोच्छु अनि मात्र जवाफ दिन्छु भन्दै बाहिरिएका थिए।
दोस्रो पटक प्रचण्डले रावललाई छुट्टै भेटे।
‘कम्युनिस्ट आन्दोलन विघटनको अपजस बोकेर तपाईं हामी बिदा हुनुहुँदैन, यो भोलि कसै न कसैले एकीकरण गरी नै हाल्छ। हुनैपर्छ,’ प्रचण्डले फेरि रावललाई भने, ‘अपजस किन थाप्लोमा लिने र? अपजस बोकेर किन रिटायर्ड हुने? एकीकरणको जस लिएर रिटायर्ड हुन पाइयो भने त्यो हाम्रा लागि गर्वको कुरा हुन्छ।’
यसरी प्रचण्डले भावनात्मक हिसाबले रावललाई विश्वस्त पारेको सापकोटा बताउँछन्।
‘तपाईंको यो कुराले म आउने भएँ। तर, फाइनल साथीहरूसँग बस्छु, तपाईंको यो कुरा मैले पनि त राख्नुपर्यो भनेर रावलले भन्नुभयो,’ सापकोटाले भने, ‘तेस्रो पटक भेट हुँदा उहाँ आउने कुरा टुंगो भयो र मिति तय गरियो।’
महाधिवेशनमा लगेर पार्टी युवाहरूलाई जिम्मा लगाउने प्रचण्डको कुराले रावललाई बढी छोएको सापकोटाको भनाइ छ।

ओलीविरुद्ध विद्रोह
नेपाली वामपन्थी राजनीतिमा रावलको आफ्नै इतिहास छ। तीन दशक बढी नेकपा एमालेमा राजनीति गरेका उनी सुदूरपश्चिमका प्रभावशाली नेतामध्येमा पर्छन्।
अछाम प्रतिनिधि सभा क्षेत्र १ बाट तीनपटक सांसद बनेका उनी पटकपटक मन्त्री बनेका थिए। एमालेमा चुनाव लडेरै उपाध्यक्षसम्म भएका रावल २०७८ मंसिरमा भएको दसौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए।
निर्विरोध अध्यक्ष बन्न खोजेका ओलीलाई लोकतान्त्रिक प्रक्रियामा लैजान आफूले उम्मेदवारी दिएको उनको भनाइ थियो।
यद्यपि, उनी पराजित भए।
एमालेमा लोकतान्त्रिक प्रणाली जोगाउन त रावलले भूमिका खेले तर सोही पार्टीमा उनी बस्न नसक्ने अवस्था बन्यो। त्यसप्रति असन्तुष्ट रावल ओलीविरुद्ध उत्रिए।
सोही कारण ओलीले उनलाई २०७९ मंसिरमा भएको प्रतिनिधि सभाको चुनावमा टिकट दिएनन्। यतिसम्म कि, उनी निकट भनेर चिनिएका नेतालाई समेत टिकट दिइएन। जसले गर्दा रावलले आफ्ना उम्मेदवार हराउन भूमिका खेलेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण जैसी बताउँछन्।
सो प्रदेशमा प्रतिनिधि सभातर्फ १६ सिटमा एमालेले २ वटा र ३२ सिट रहेको प्रदेश सभामा जम्मा तीनवटा मात्र जितेको उनले बताए।
आफूविरुद्ध अध्यक्षमा उठेकोमा क्रुद्ध ओलीले उनलाई ०८१ पुस १० गते साधारण सदस्यबाट निष्कासित गरेका थिए। एमालेले निष्कासन गरेपछि आफ्नै संयोजकत्वमा दस महिना ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरेका उनले सुदूरपश्चिममा आफ्नो छुट्टै संगठन निर्माण गरेका थिए।
उनले भारतमा मुम्बई, पुणे लगायत ठाउँमा पुगेर पनि भेला राखे। तर, यो अभियान देशव्यापी बन्न सकेन। तथापि, एमालेको संगठनमा केही असर गरेको जैसी स्वीकार गर्छन्।
अभियानबाट राष्ट्रिय राजनीतिमा ठूलो हलचल ल्याउन नसके पनि रावलले सो प्रदेशको राजनीतिमा एमालेलाई असर गरेको उनले बताए। नेपाली कम्युनिस्ट पार्टीमा जोडिएपछि त्यसको प्रभाव रहने उनको भनाइ छ।
‘गएको चुनावमा उहाँकै कारण सुदूरपश्चिममा केही असर परेको हो। रावलले एमालेविरुद्ध उल्टो कुरा गर्नुभयो,’ जैसीले नेपालखबरसँग भने, ‘त्यसबेला त हराउन लागेका रावल अब झन् खुलेर हिँड्ने भएकोले यो एउटा चुनावमा असर पर्छ कि! अहिले दस दल मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएको भनेर तिकडम त गर्लान्। तर, धेरै ठूलो असर पर्ने गरी पार्टी पंक्तिका जाँदैनन्। प्रकाश शाह जानुभएको छ, अरु सुनेको छैन।’
उनका अनुसार ०५४ सालदेखि रावलले बनाएको संगठन केही जिल्लामा अझै छ। सदूरपश्चिममा अछाम, कैलाली र कञ्चनपुरमा रावलको प्रभाव रहेको जैसी बताउँछन्।
‘अछाम त उहाँकै जिल्ला भइहाल्यो, कैलाली कञ्चनपुरमा माथिबाट बसाइँ सरेका मानिसहरू भएको केही क्षेत्र छ र उहाँको प्रभाव पर्छ,’ उनले भने, ‘त्यसबाहेक दार्चुला, बैतडी, डडेल्धुरा, डोटी र बाजुरामा छैन।’
बाजुराका प्रकाश शाहले पनि एमाले छोडेका छन्। त्यसबाहेक एमालेलाई संकट पार्नेगरी रावलको पक्षमा आजभोलि कोही नजाने जैसीले ठोकुवा गरे।
‘उनलाई भित्र्याएपछि माओवादीकै मानिस निराश छन्, अब उनीहरू यता आउँछन्,’ जैसीले भने।
तर, आफ्नो पार्टीमा रावलको आगमनले सुदूरपश्चिममा मात्र नभई देशभर प्रभाव पर्ने दाबी गर्छन् नेपाली कम्युनिस्ट पार्टीका नेता शेरबहादुर कुँवर। रावलसँग २०४४ देखि संगत गरेका कुँवरले उनी सांगठनिक रूपमा इमान्दार नेता भएको बताए।
‘नेतृत्वप्रति वितृष्णा पैदा भइरहेको बेला उहाँको क्रेजले काम गर्छ, एमालेभित्र रहेका असन्तुष्ट नेपाली कम्युनिस्ट पार्टीमा आउन सक्छन्,’ उनले भने, ‘तीनै वटा तहको आगामी चुनावमा एमाले शून्यमा झर्नेछ।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवाले पकडमा राखेको सुदूरपश्चिमको राजनीति अब रावलले लिने ठोकुवा गरे।
‘सुदूरपश्चिका जनताको सहानुभूति उहाँप्रति भएकोले आकर्षण आउन सक्छ,’ कुँवरले थपे, ‘संगठन निर्माणमा इमानदार व्यक्तिहरू फिल्डमा जाने वातावरण बन्नेछ।
सो प्रदेशमा अहिले इमानदार नेता भए पनि नेतृत्व नभएकोले यसमा रावल गम्भीर बन्नुपर्ने उनको भनाइ छ।
तर, एमालेका सुदूरपश्चिम अध्यक्ष कृष्ण जैसी केही जिल्लाबाहेक अन्यत्र प्रभाव नपर्ने बताउँछन्।
‘जिम्मा दिएको काम गर्ने, खट्ने स्वभाव उहाँमा छ,’ जैसीले भने, ‘नेकपा हुँदा सुदूरपश्चिमको इन्चार्ज भएर उहाँले केही प्रभाव त छोड्नुभएको छ। खट्न र तल तलसम्म पुग्नसक्ने नेता हो।’
०५४ सालमा अछामका एमाले केन्द्रीय सदस्य भीमबहादुर कडायत लगायत नेता मालेतिर लागेपछि रावलले अवसर पाएको उनको भनाइ छ। एमालेमा ओलीविरुद्ध उम्मेदवारी नदिएको भए रावल एमालेको अहिले प्रभावशाली नेता भइरहने जैसी बताउँछन्।
‘उपाध्यक्ष उठेको भए एमालेमा राम्रो हुन्थ्यो होला, मान्नुभएन। अध्यक्ष लड्नुभयो, हारेको मान्छेलाई त्यत्तिकै राख्न मिलेन। उहाँलाई पद चाहिने। टिकट पनि दिइएन। अनि उहाँ निराश हुनुभयो र अहिलेको अवस्था आइपरेको हो,’ जैसीले भने।
Shares

प्रतिक्रिया