क्यान्सर रोगको उपचारका लागि आवश्यक ‘साइक्लोट्रोन मेसिन’ नेपालमा ल्याउन छलफल सुरु भएको छ।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सो सम्बन्धी छलफल भएको शिक्षामन्त्री महावीर पुनले जानकारी दिएका छन्।
मन्त्री पुनका अनुसार उक्त मेसिनलाई करिब ९० करोड रुपैयाँ पर्छ।
उनले हजारौँ जनाको उपचारका लागि मेसिन राख्न कन्जुस्याईं गर्न नहुने भन्दै अघि बढेको जानकारी दिएका छन्।
‘नेपालमा क्यान्सरको उपचार गर्ने अस्पतालहरु ११ वटा जति रहेछन। तर क्यान्सर रोगको पहिचान र उपचारको लागि चाहिने औषधि (रेडियो आइसोटोप) उत्पादन गर्ने साइक्लोट्रोन मेसिन नेपालमा रहेनछ’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सो मेसिन नेपालमा ल्याएर सञ्चालन गर्न विज्ञान मन्त्रालयमा आज विज्ञहरु र स्टेकहोल्डरहरूसँग छलफल भयो र अघि बढियो। सो कामको लागि इमान्दारीका साथ काम गर्दा पनि कम्तिमा ९० करोड रुपैयाँ जति लाग्छ। यत्ति एउटा मेसिन राख्न पनि कन्जुस्याईं गर्न हुँदैन। हजारौं बिरामीको उपचार हुन्छ।’
Shares

प्रतिक्रिया