ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा ‘झिँगेदाउ २’ छायांकनको अन्तिम तयारीमा छ। निर्माता समेत रहेका निर्देशक देउजाले यो सिनेमा आगामी मंसिर १५ गते सोमबार शुभमुहूर्त गर्दै छायांकन सुरु गर्ने तयारी छ।
यसैबीच, मुख्य कलाकार हेरफेर गरिएको छ। निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सिनेमाको मुख्य अभिनेता मुकुन भुसालको ठाउँमा अर्का अभिनेता महेश त्रिपाठीलाई अनुबन्धित गरेका छन् ।
निर्देशक र कलाकारबीच छायांकन सेड्युललाई लिएर विवाद हुँदा सिनेमाबाट मुकुनको विकल्प खोज्नु परेको निर्देशक देउजा बताउँछन्।
निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भनेको समयमा छायांकनमा निस्कन सकेका थिएन्। सोही विषयमा विवाद भएपछि उनले ‘झिँगेदाउ २’ बाट मुकुनलाई निकालेर महेशलाई अनुबन्धित गर्दै छायांकनमा जान तयार भएका हुन्।
यस विषयमा हामीले निर्देशक देउजासँग बुझ्दा विवादको कारण खुलाउन नचाहेपनि सिनेमाका मुख्य अभिनेता मुकुन भुसाललाई निकालेको दाबी गरे। अभिनेता भुसालको करियरको सुपरहिट सिनेमा नै ‘झिँगेदाउ’ थियो। त्यसअघि उनले केही राम्रा सिनेमामा अभिनय गरेपनि बक्सअफिसमा सफल हुनसकेका थिएनन्।
कपनगढी सिनेमा प्रालीको ब्यानरमा निर्माण हुने यो सिनेमामा महेशसहित आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंहलगायतका कलाकारलाई भित्र्याएका छन्। यसअघिका कलाकारहरूमा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, संगम भण्डारी, हिउँवाला गौतम, आयन खड्का लगायतका कलाकार भने यतावत् छन्।
Shares

प्रतिक्रिया