नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा जनतामा राजनीतिप्रति र नेताहरूप्रति बढ्दै गएको वितृष्णा गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
बुधबार भीम रावल लगायतका नेताहरूलाई भित्र्याउन नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरू र दलहरूले समयमै आत्ममन्थन नगरे पार्टीभित्रका विकृति र विसंगति झन् बलियो बन्दै जाने चेतावनी दिए।
‘हामीले बुझ्नुपर्छ- जनतामा राजनीतिप्रति किन वितृष्णा पैदा भइरहेको छ, निराशा किन बढिरहेको छ?,’ नेपालले भने, ‘यी सबैबारे आत्ममन्थन गरेनौँ भने पार्टीमा रहेका विकृृति र विसंगतीहरू, नेता र कार्यकर्तामा रहेका विकृति, विसंगतिहरूलाई बिर्सियौँ भने फेरि नयाँ बोतलमा पुुरानो रक्सी भन्ने भनाइ दोहोरिन बेर लाग्दैन।’
प्रचण्डसँगको छलफलमा समेत आफूले पार्टीको रूपान्तरणका लागि गहिरो आत्मसुधार आवश्यक रहेको स्पष्ट बताएको उनले उल्लेख गरे। ‘मैले प्रचण्डलाई पनि भनेको छु, हामी नयाँ र क्रान्तिकारी पार्टी बनाउँदैछौँ, यो परिवर्तन सजिलो छैन-यो आफैँबाट सुरु गर्नुपर्छ,’ नेपालले भने।
Shares

प्रतिक्रिया