नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टी बचाउन पनि विशेष महाधिवेशन गर्नै नहुने बताएका छन्। जारी केन्द्रीय समितिको बुधबारको बैठकमा उनले नियमित महाधिवेशन गर्न सक्ने अवस्था हुँदाहुँदै विशेष महाधिवेशन गर्न नहुने बताएका हुन्।
‘विशेष महाधिवेशन गर्न विधानअनुसार साथीहरूले हस्ताक्षर गरी दर्ता गरेको स्थिति छ, हामीले नियमित महाधिवेशन गर्ने कि विशेष, चुनावअघि गर्ने कि पछि भनेर छलफल महिना दिनसम्म गरिसक्यौँ। विशेष महाधिवेशनसम्म जानै हुन्न,' उनले भने, 'विशेष महाधिवेशन माग गर्ने साथीहरूको भावना समेटेर विशेष महाधिवेशन माग एजेन्डा फिर्ता गर्न लगाउनुपर्छ, क्रियाशील नवीकरण र नयाँ वितरण सके पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ।’
‘विशेष महाधिवेशन कार्यविधि के हुनेजस्ता अन्योलमा लैजानु भनेको त्यसले पार्टीलाई विभाजन गर्न सक्छ,’ उनले भने, 'त्यस्तो बेला आ-आफ्नो व्याख्या हुन्छ र हाम्रा बीचमा दरार उत्पन्न गराउँछ। विशेष महाधिवेशन गर्नु भनेको त्यस्तो जंगलभित्र कांग्रेस पस्नु हो जहाँबाट बाहिर निस्कने एउटा बाटो छैन, फरक फरक बाटो छन् र ती फरक फरक बाटोबाट बाहिर आउँदा कांग्रेस सग्लो रहँदैन। त्यसैले विशेष महाधिवेशन रोकौं।’
Shares

प्रतिक्रिया