सत्तारुढ नेकपाभित्र पछिल्लो समय सिर्जित राजनीतिक संकटका माझ शीर्ष नेताहरुबीच शक्ति हात पार्न तीव्र खिचातानी चलिरहेको छ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अध्यादेश प्रकरणका कारण सत्ताबाट बाहिरिन बाध्य हुने अवस्थामा आइपुगेका छन्। त्यसैले ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आफ्नो हात माथिबाट पर्नेगरी समीकरण बदल्न प्रयासरत छन्।
नेपाल वा प्रचण्ड पक्षलाई मनाएर प्रधानमन्त्री ओली आफू प्रधानमन्त्री कायम रहने कसरतमा छन्। नेता नेपालसँग भने ओलीसँग मिलेर पार्टी अध्यक्ष वा प्रचण्डसँग मिलेर प्रधानमन्त्री बन्ने दुई विकल्प छन्।
ओली प्रधानमन्त्रीबाट हटेको अवस्थामा विकल्पका रुपमा हेरिएका दुई पात्र हुन्– प्रचण्ड र नेपाल।
तर, प्रचण्डको प्राथमिकता प्रधानमन्त्री होइन, पार्टीको शक्तिशाली अध्यक्ष बन्ने नै रहेको उनी निकट नेताहरू बताउँछन्।
‘अध्यक्ष प्रचण्डले ठ्याक्कै भन्नुभएको छैन,’ प्रचण्डनिकट एक नेताले भने, ‘उहाँ अहिले नै अध्यक्ष हुनुहुन्छ र अझै शक्तिशाली अध्यक्ष रहने भन्ने देखिन्छ।’
प्रचण्डले आफु निकट नेताहरुसँग माधव नेपाल सहित गठबन्धनमा रहेका नेताहरुको सुझावको आधारमा अघि बढ्न तयार रहेको बताउने गरेका छन्।
‘पार्टी अध्यक्ष वा प्रधानमन्त्रीको पद बाँडफाँट हुँदा उहाँमा यो नै पद चाहियो भन्ने छैन, साथीहरुले जे निर्णय गर्छन् त्यही लिन तयार छु भन्नुभएको छ,’ स्थायी समिति सदस्य मात्रिका यादवले नेपालखबरसँग भने, ‘आफुले एकता गरेको पार्टी अझै एकताबद्ध गर्ने चाहना उहाँको छ।’
हाल अध्यक्ष प्रचण्ड र नेपाल पक्षले अध्यक्ष ओलीमाथि स्थायी समिति बैठक बोलाउन दबाब दिइरहेको छ। मंगलबार सचिवालयको बैठक बस्दैछ। त्यसपछि स्थायी समिति बैठकको मिति तय हुनसक्छ।
तर, स्थायी समिति बैठकअघि नै भैँसेपाटी गठबन्धनका नेताहरुबीच कसले के जिम्मेवारी लिने भन्नेबारे निर्णय गर्ने नेताहरुले बताएका छन्।
ओलीले अध्यादेश ल्याएपछि उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित घरमा नेकपा सचिवालयका बहुमत सदस्य भेला भएका थिए।
‘स्थायी समितिको बैठकको मिति तय भएपछि प्रचण्ड–नेपाल गठबन्धनमा रहेका नेताहरुले कसले के जिम्मेवारी लिने भन्नेबारे निर्णय हुन्छ,’ एक स्थायी समिति सदस्यले भने, ‘गठबन्धनभित्र पनि समझदारी बन्छ, नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीचमा सहमति हुन्छ।’
वैशाख ८ गते प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल नै नगरी दल विभाजनको व्यवस्था खुकुलो गर्नेगरी राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए।
ओलीको यो कदमलगत्तै पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ।
वैशाख ११ गते उपाध्यक्ष गौतमको निवासमा भेला भएका सचिवालय सदस्यहरुले ओलीलाई अध्यादेश फिर्ता गर्न अल्टिमेटम दियो।
सोही दिनदेखि सत्तारुढ दलभित्रको समीकरण चलायमान बनेको छ।
अध्यादेश प्रकरणपछि बिग्रेको नेकपाभित्रको राजनीतिलाई समाधान गर्न स्थायी समितिको बैठक बोलाउनुपर्ने र सोही बैठकले दिएको म्यान्डेटको आधारमा पार्टी सञ्चालन गर्नुपर्ने प्रचण्ड–नेपाल गठबन्धनको पहिलो सर्त छ।
प्रचण्ड–नेपाल नजिकिएसँगै प्रधानमन्त्री ओली थप दबाबमा परे।
प्रचण्ड–नेपाल मिल्दा सचिवालयदेखि स्थायी र केन्द्रीय समिति हुँदै संसदीय दलमा समेत ओली अल्पमतमा छन्।
वैशाख १३ गते बालुवाटारमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर छलफल गरेका थिए। सबैले स्थायी समितिको बैठक बोलाउन ओलीलाई सुझाव दिए।
तर, ओलीले स्थायी समितिको बैठक बोलाउन आनाकानी गरिरहेका छन्। उनी सकभर बैठक नराखी नेपाल–प्रचण्ड गठबन्धन तोड्न लागिपरेका छन्।
त्यसैले उनले नेता नेपाललाई आफ्नो पक्षमा ल्याउने कसरत गरिरहेका छन्। सो काममा उनले आफू निकटका रक्षामन्त्री ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अघि सारेका छन्।
सोमबार बिहान ओलीले नेता नेपाललाई बालुवाटारमा बोलाएर छलफल गरे। मिलेर जान आग्रह गरे। नेता नेपालले पनि ओलीलाई तत्काल स्थायी समितिको बैठक बोलाउन सुझाव दिए। त्यसपछि ओली र नेपाल समूहका नेताहरुबीच कोटेश्वरमा वार्ता भएको थियो।
वार्तामा मंगलबार नै सचिवालय बैठक राख्ने र त्यसले स्थायी समितिको मिति तोक्ने तथा पार्टी कमिटीहरुबाट उठेका विषयलाई सम्बोधन गर्न दुवै पक्ष सहमत भएको नेताहरुको भनाइ छ।
यता कोटेश्वरमा ओली–नेपाल पक्षबीच छलफल भइरहँदा प्रचण्डले आफ्नै निवासमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई बोलाई आगामी रणनीतिबारे छलफल गरेका थिए।

प्रतिक्रिया