ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसमेतले गठन गर्न लागेको पार्टीमा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ भने समावेश नहुने भएकी छन्। सँगै सहकार्य गरेर अघि बढ्ने चाहनाहरू हुँदाहुँदै अहिलेलाई सहकार्य हुने अवस्था नभएको श्रेष्ठले बताइन्।
उनले कुलमान घिसिङलाई नयाँ पार्टी स्थापना र सञ्चालनका लागि शुभकामना पनि दिइन्। 'अलायन्स गरेर जानुपर्छ भन्ने नै मत यथावत नै छ। कुलमान सरलाई हृदयदेखि नै शुभकामना उहाँ क्यापेबल मान्छे हुनुहुन्छ,' उनले नेपालखबरसँग भनिन्, 'भविष्यमा सहकार्यको बाटो खुला नै हुन्छ।'
श्रेष्ठले केही समयअघि मात्रै रास्वपा छोडेकी हुन्। उनी घिसिङलाई रास्वपामा लगेर सभापति बनाउन चाहन्थिन। त्यसको प्रयास गरेकी पनि थिइन्। तर, रवि लामिछानेले सभापति पद छोड्न अस्वीकार गरेपछि श्रेष्ठ घिसिङकै नेतृत्वमा नयाँ दल खोलेर चुनावमा जान तयारीमा थिइन्।
श्रेष्ठले नयाँ दल नेतृत्व घिसिङले नै गर्नुपर्ने पक्षमा आफू रहेको बताइन्। 'उहाँलाई अध्यक्ष मानेर जानेनै हो भन्ने कुरा थियो। तर यस्तै हो,' उनले भनिन्।
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मुद्दाहरू संस्थागत हुनुपर्छ भन्ने आफ्नो अडान कायमै रहेको पनि बताइन्। नेपालमा हरेक १० वर्षमा विद्रोह हुन्छ भन्ने भनाइ चिर्न पनि काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
नामको विषयमा असहमति भएर नयाँ पार्टीमा नजानु भएको हो? भन्ने प्रश्नमा उनले भनिन्, 'नामको विषय त्यस्तो महत्वपूर्ण विषय होइन। पार्टी निर्माण गर्दा पार्टीका निर्णायक मान्छे जनतासँग हुनुपर्छ। पदमा केही समस्या होइन। सबै वैकल्पिक विचार राख्नेहरू एक हुनुपर्छ।'
घिसिङसहितले पूर्वऊर्जा अनुपकुमार उपाध्यायको संयोजकत्वमा उज्यालो नेपाल नामक दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने अन्तिम तयारी गरेका छन्। उक्त दलले चुनाव चिह्न भने बिजुलीको चिम राख्ने निर्णय गरेको छ।
घिसिङनिकटका जितराम वाइबाले सुमना पछि जोडिने भन्दै अहिले सँगै नरहने बताएर बैठकबाट निस्केको जानकारी दिए। वाइबाले मंगलबारसम्म निर्वाचन आयोग गएर दल दर्ताको निवेदन दिने तयारी भएको बताए।
'आज नभ्याए भोलिसम्म निर्वाचन आयोग जान्छौँ। उहाँ (सुमना)सँग केही विवाद भएको थिएन,' उनले नेपालखबरसँग भने, 'पछि सहकार्य गर्ने भन्ने कुरा भयो।'
Shares

प्रतिक्रिया