गण्डकी


जेन-जी आन्दोलनमा गण्डकीमा ५ अर्बको क्षति

जेन-जी आन्दोलनमा गण्डकीमा ५ अर्बको क्षति

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १४:४५, पोखरा

जेन–जी आन्दोलनको क्रममा गण्डकी प्रदेशमा ५ अर्ब बराबरको क्षति भएको प्रदेश सरकारले जनाएको छ। 

गण्डकी प्रदेशसभाको सोमबारबाट सुरु भएको हिउँदे अधिवेशनलाई संवोधन गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशका ७ जिल्लामा रहको १३८ सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति भएको जानकारी गराए।

उनका अनुसार कास्की, तनहुँ नवलपुर, बागलुङ,पर्वत,तनहुँ र म्याग्दीमा गरी ३६१ वटा २ पांग्रे सवारी साधन जलाइयो भने ७ वटा तोडफोड भयो र ३ वटा हराइरहेका छन्। यस्तै १६१ वटा चारपांग्रे सवारी साधन जलाइयो भने ३१ वटामा क्षति पुगेको छ। 

‘जम्माजम्मी गरेर जेन–जी आन्दोलनको क्रममा २ अर्ब सरकारीतर्फ र करिब ३ अर्ब निजी क्षेत्रमाथि क्षति पुगेको छ,’मुख्यमन्त्री पाण्डेले भने,‘ आन्दोलनको क्रममा कास्कीमा ३ जनाको ज्यान गयो।’ 
आन्दोलनको क्रममा भरतपुर पोखरा १६ बस्ने विजय तामाङ,काठमाडौं ३ घर भइ पोखरा बस्ने कान्छी नगरकोटी र दोलखा घर भएकी स्वस्थानी थापाले ज्यान गएका थियो। तीमध्ये कान्छी नगरकोटीको प्रदेश सभासद विन्दुकुमार थापाको भाइ तथा अटो व्यवसायी ध्रुव थापाको घरमा आन्दोलनकारीले लगाएको आगोमा जलेर ज्यान गएको थियो। उता, मन्त्री थापाकै स्वामित्वमा रहेको अंशुभरा समूहको लेकसाइडस्थित घरको आगोमा परेकी थिइन्।

विजय तामाङको चाहिँ जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गर्ने क्रममा ज्यान गएको हो। 

आन्दोलनको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी गरी ७० जना घाइते भएको पनि मुख्यमन्त्री पाण्डेको भनाइ छ। 

मुख्यमन्त्री पाण्डेले क्षति पुगेका संरचनाको मूल्याङ्कन र स्टिमेटको काम भइसके पनि यस्ता घटनाको कल्पना नै नभएकाले पुनः निर्माणको लागि बजेट छुट्याउन समस्या भएको बताए। 

‘तर, पनि प्रदेश सरकारले तत्काल सेवा सुरु गर्नुपर्ने कार्यालयहरुलाई आवश्यक सहयोग गर्ने काम भइरहेको छ,उनले भने,‘ पुनःनिर्माणलाई तीन चरणमा गरिने छ। सामान्य क्षति भएकालाई केही मर्मत गरी संचालनमा ल्याएको छ। भत्काउन नपर्नेलाई रेट्रोफिट गर्ने र पुनः नयाँ निर्माण गर्नेलाई सायद आगामी बजेटबाट गर्ने भनेर अगाडि बढेका छौँ। १ अर्ब ५० करोड चालु खर्चलाई घटाएर पुनः निर्माणमा खर्च गरिने छ। जेन–जी आन्दोलनपछि सेवा प्रवाह प्रभावित भए पनि प्रदेश सरकारको काम निरन्तर चलिरहेको छ।’

फागुन २१ को चुनाव सफल पार्न मुख्यमन्त्रीको आह्वान 
मुख्यमन्त्री पाण्डेले आउँदो फागुन २१ का लागि घोषित निर्वाचन सफल बनाउन प्रदेश सभासदलाई आग्रह गरे। 

उनले घोषित चुनाव सफल बनाउनु प्रदेश सरकारकोसमेत दायित्व भएको बताउँदै सो अभियानमा सघाउन प्रदेशबासी  र नागरिक समाजसँग अपिल पनि गरेका छन्। 

मुख्यमन्त्री पाण्डेले भने, ‘संघ सरकारले फागुन २१ गतेको लागि आम निर्वाचन  घोषणा गरी तयारी भइरहेको सन्दर्भमा संविधान अनुसार घोषित चुनावलाई सफल बनाउनु प्रदेश सरकारको पनि दायित्व हो। यो अभियानलाई सघाउन म माननीय सभासद र नागरिक समाजसँग पनि अनुरोध गर्दछु।’

मुख्यमन्त्री पाण्डे नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेश सभासद र संसदीय दलका नेता बनेका हुन्। नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका उनले सदनमै उभिएर घोषित निर्वाचन सफल बनाउन आग्रह गरे पनि उनको सत्ता साझेदार नेकपा एमालेले भने संसद पुनःस्थापनाको एजेण्डा अगाडि बढाइरहेको छ।  

आफ्नो संक्षिप्त मन्तव्यको सुरुमै मुख्यमन्त्री पाण्डेले जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएकप्रति श्रद्धाञ्जली अर्पण गरे भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे। 

जेन–जी आन्दोलनको क्रममा उठाएका मुद्दाहरु संवोधन गर्न तथा नागरिकको आंकाक्षा पूरा गर्न सबै एक हुनुको विकल्प नभएको बताउँदै उनले अगाडि भने,‘संविधानले अधिकारमात्र दिएको छैन, कर्तव्यवोधको बाटो पनि देखाएको छ। स्थायित्वले मात्र हाम्रा चाहना पूरा हुन्छन्।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad