राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकारी सभापति दिन अस्वीकार गरेपछि कुलमान घिसिङले फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि अलग्गै दल दर्ता गर्ने भएका छन्। तर, अहिले नै सो पार्टीको नेतृत्वमा घिसिङ हुने छैनन्।
चुनावको केही समयअघि मात्र उनले आफ्नो उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्ने छन्।
हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेका उनले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर दल दर्ता गर्न लागेका हुन्।
शुक्रबारसम्म निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिइने घिसिङनिकट जीतराम वाइबाले नेपालखबरलाई जानकारी दिए।
‘संयोजक र अरु सदस्य राखेर आयोगमा दल दर्ताको निवेदन दिन्छौँ,’ उनले भने, ‘मन्त्री भएको कारण प्राविधिक समस्या पर्ने भयो र कुलमान घिसिङको नाममा दर्ता गर्न मिलेन।’
उज्यालो नेपाल पार्टी घिसिङकै भिजनमा खुलेको उनले दाबी गरे।
‘अहिले अप्ठेरो परिस्थितिमा बनेको सरकारले काम पनि गर्नुपर्ने छ। चुनाव गराउनुपर्ने छ,’ उनले थपे, ‘चुनाव भएन भने जेनजीको म्यान्डेट पूरा हुँदैन। उहाँ अहिले सरकारमै बसेर काम गर्नुहुन्छ। यता पार्टी पनि दर्ता गर्नुपर्ने भयो। उज्यालो नेपाल पार्टी दर्ता भइरहन्छ। त्यसले काम गरिरहन्छ। पछि उहाँ जोडिने, उम्मेदवार हुने, चुनाव लड्ने त छँदैछ। राजीनामा दिएपछि पार्टी गतिविधिमा रहन पाउनुहुन्छ।’
यद्यपि, दल दर्ता गर्दा राखिने संयोजकमा उपाध्यायबाहेक अन्य दुई जनाको पनि नाम छलफलमा आएको उनले बताए। उपाध्यायले घिसिङसँगै २०७४ सालमा गणतन्त्र दिवसको अवसरमा सरकारबाट सुप्रबल जनसेवाश्री पदक पाएका थिए।
रास्वपासँग कुरा नमिलेपछि नयाँ दल खोल्ने निचोडमा पुगिएको वाइबाको दाबी छ।
उनका अनुसार रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वार्णिम वाग्ले, शिशिर खनालसँग कुलमान घिसिङको प्रत्यक्ष, फोन र एसएमएसमा कयौँ पटक कुराकानी भएको छ। वाग्ले र घिसिङबीच एक्लाएक्लै पनि वार्ता भयो। गत १० दिनयता घिसिङ आफैँले छलफल गरे पनि समझदारी जुट्न सकेन।
जसमा घिसिङका तर्फबाट तीन वटा प्रस्ताव प्रस्तुत भएको रास्वपाको उच्चस्तरीय वार्ता कमिटीमा रहेका नेताहरूले बताए।
पहिलो, रास्वपाका सभापति थुनामा भएकाले उनले क्लिन चिट नपाएसम्म कुलमानलाई कार्यकारी सभापति बनाउनुपर्ने।
दोस्रो, रास्वपा नाममा कतै न कतै ‘उज्यालो’ शब्द राख्नुपर्ने।
तेस्रो, रास्वपाको केन्द्रीय संरचनामा घटीमा ३० देखि बढीमा ५० प्रतिशत हिस्सा पाउनुपर्ने।
काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाह, रास्वपा छोडेकी सुमना श्रेष्ठ, जेनजी प्रतिनिधि सुदन गुरुङ लगायतको समर्थन पाएका घिसिङ रास्वपाले पार्टीको कार्यकारी सभापति आफूलाई दिनुपर्ने अडानबाट टसमस नभएको उनीहरूको भनाइ छ।
आफूहरूले सभापति छोड्न नसकिने तर उपसभापति लिएर पार्टीमा जोडिन गरेको आग्रहमा घिसिङ र उनको समूह तयार नभएको प्रवक्ता मनीष झा बताउँछन्।
फूल ओछ्याएर स्वागत गर्छौं भन्दाभन्दै पनि घिसिङ नआएको सचिवालय सदस्य गणेश पराजुलीले दाबी गरे।
‘रास्वपा विधिसम्मत स्थापना भएको राजनीतिक दल हो। उहाँहरू (कुलमान) ले सर्त राखे पनि त्यो कतिको धरातलको यथार्थमा छ? कति नेपाली जनताले स्वीकार्छन्?’ पराजुलीले भने, ‘आज नेगोसियसन गरिहालौँ न भनेर मात्र त भएन। सहकार्य गर्ने, वार्ता गर्ने प्रक्रियामा हामी अझै लाग्छौँ। जोडिएनन्, आएनन् एक्लाएक्लै हिँडे भने हामी हाम्रो बाटोबाट विचलित हुँदैनौँ।’
विस्तारित बैठकपछि रास्वपाले एजेन्डा बनाएर चुनाव केन्द्रित कार्यक्रम ल्याउने पराजुली बताउँछन्। रास्वपाको शुक्रबार र शनिबार चितवनमा केन्द्रीय समितिको विस्तारित बैठक राखिएको छ।
नेताहरूको दाबी अनुसार घिसिङलाई मिसाउन सके शक्ति झन् बढ्ने देखेरै रास्वपाले डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले र शिशिर खनाल जस्ता प्रभावशाली नेतालाई वार्तामा खटाएको थियो।
उनीहरूले सिधै कुलमान घिसिरूसँगै संवाद गरे। शनिबार र आइतबार पनि उनीहरूबीच भेटवार्ता भयो।
‘कुलमानजीले कार्यकारी सभापति नभई हुँदैन भन्नुभयो,’ संवादमा रहेका रास्वपाका एक नेताले नेपालखबरसँग भने, ‘कुलमानले मात्र होइन, हाम्रो सम्पर्क र संवादमा जोडिनुभएका विभिन्न सूत्र, नजिकका साथीबाट पनि कार्यकारी सभापति नै मेरो रोजाइ हो भनेर सन्देश पठाउनुभयो।’
तर, बार्गेनिङ गरेको हुनसक्ने भन्दै आफूहरू मिलेर जान सकिएला भनेर विभिन्न हिसाबले संवादमै रहेको ती नेताले जानकारी दिए।
‘कार्यकारी सभापति नै बटमलाइन भन्नुभएकोले त्यसबाट तल बस्ने उहाँले रुचि देखाउनुभएको छैन,’ ती नेताले थपे।
तथापि, नयाँहरू सबै मिलेर जानुपर्ने घिसिङको कुरा रहेको जीतराम वाइबा दाबी गर्छन्।
बालेनको साथले शक्तिशाली कुलमान
२०७९ असार ७ गते खुलेको रास्वपाले सोही वर्षको मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा २० सांसद जितेको थियो। अहिले देशका ७५ वटा जिल्लामा र सबै प्रदेशमा समिति बनाएको, वडासम्मै पार्टीको संगठन विस्तार गर्दै गरेको, पछिल्ला दिन प्रायः युवामाझ लोकप्रिय देखिएको पार्टीको नेतृत्व दाबी गर्ने अवस्थामा कुलमान कसरी पुगे?
रास्वपाका नेताहरू काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको साथ र समर्थन पाएर घिसिङमा महत्वकांक्षा बढेको हुनसक्ने बताउँछन्।
‘कुलमानलाई पार्टीको सभापति बनाउने भए बालेनको समर्थन रहन्छ भनेर दबाब दिएका छन्,’ ती नेताले दाबी गरे, ‘अहिले सुमना, सुदन गुरुङ लगायतको टिम पनि जोडिएको छ।’
नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न बालेनका सहयोगी कुमार बेन गएका थिए। नयाँ शक्तिहरू मिलेर एउटै दल बनाउनुपर्ने भन्दै लामिछानेलाई सभापति छोड्न र कुलमानलाई बनाउन उनले आग्रह गरेका थिए।
बालेनकै सचिवालयकै टोलीले रास्वपाका शीर्ष नेतासँग कुरा गर्दा पनि घिसिङसँग मिलेर जान सुझाव दिएको थियो। उनीहरूले पनि रवि लामिछानेले सभापति छोड्नुपर्ने सर्त राखेका थिए।
तर, रविले सभापति छोड्नुपर्ने कारण नरहेको रास्वपाले बताउँदै आएको छ। त्यही भएर घिसिङ नयाँ दल खोलेर जाने निचोडमा पुगेका छन्।
‘भोलि चुनावमा सहकार्य गर्ने सम्भावना त छँदैछ,’ रास्वपा प्रवक्ता झा भन्छन्।
Shares

प्रतिक्रिया