सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीलाई बाहिरी भेटघाटमा कडाई गरेको छ। बिहीबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूमा परिपत्र जारी गर्दै अनिवार्य भेटघाट गर्नु परेमा स्वीकृती लिन भनिएको छ।
सशस्त्र प्रहरी कर्मचारीहरूले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्त व्यक्तित्वहरू, राजनैतिक दलहरूका नेतृत्व तथा पदाधिकारी लगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरूमा बिनाअनुमति भेटघाट गर्न नपाउने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
सशस्त्र प्रहरीका कर्मचारीहरूले कुुटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश स्वीकृत गरी लागु गरिएको जनाएको छ।
जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूले विभिन्न उच्च पदस्त व्यक्तित्वहरू, सामाजिक अभियन्ता लगायतका विभिन्न संचारमाध्यमहरूलाई संगठनका निर्दिष्ट लक्ष्य तथा योजनाहरूमा प्रतिकुल हुने गरी आफ्नो व्यक्तिगत लाभ र अवसरहरू तथा संगठनका गोप्य सूचनाहरू अनाधिकृत रुपमा प्रकाशन गरेको पाइएमा पनि कडा कारबाहीको चेतावनी दिएको छ।
राज्यप्रदत्त जिम्मेवारीहरू मध्ये विशेष गरी आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्ता महत्वपूर्ण जिम्मेवारीलाई ध्यानमा राखी कार्य गर्न स्मरण गराइएको छ।
अनाधिकृत रुपमा गरिने भेटघाटले सांगठानिक मर्यादामा खलल पुर्याउने र राष्ट्रिय सुरक्षा एवं अखण्डतामा समेत असर पर्ने भएकोले यस्ता गतिविधिहरूलाई पूर्ण रुपमा निरुत्साहित गरिएको सशस्त्र प्रहरीको दाबी छ।
सांगठानिक हित र आवश्यकताको कारण सूचना आदान प्रदान गर्नु परेमा स्थायी आदेशमा उल्लेखित अनुसूचि अनुरुप फाराम भरी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयबाट पूर्वस्वीकृत लिई भेटघाट गर्न सकिने उल्लेख गरिएको छ।
फौजी संगठनमा अनुशासीत, मर्यादित र आदेशको पालना हुनैपर्ने भन्दै एक कर्मचारीले गरेको गल्तीले व्यक्तिको मात्र नभई संगठनको समेत बदनाम हुने बताइएको छ।
आर्थिक तथा भौतिक रुपमा चाहिने जति सेवा सुविधा नभएता पनि राज्यले दिएको सम्मान र प्रतिष्ठालाई शिरमा राखी आ–आफ्नो पदको मर्यादा र अनुशासनको पालना गरी संगठनले लिएको शून्य सहनशीलताको नीतिलाई अक्षरस पालन गर्दै सीमा सुरक्षा, शान्ति सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद्मा परेकाहरूको उद्धार तथा सहयोग लगायतका कार्यहरूमा उच्च मनोवल र पेशागत बफादारिताकासाथ लाग्न पनि निर्देशनमा भनिएको छ।
कुनैपनि सशस्त्र प्रहरी कर्मचारीहरूले नियम र आचरण विपरितका कुनै भेटघाट वा राजश्व चोरी निकासीमा संलग्न भएको पाइएमा छिटो भन्दा छिटो सम्पर्क गरिदिन समेत अनुरोध गरिएको छ।
Shares

प्रतिक्रिया