जेनजी आन्दोलनका एक अगुवा रक्षा बमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेकी छन्।
‘नेपाल जेनजी फ्रन्ट नेपाल’का संयोजकसमेत रहेकी बमले नाम नलिईकन निहत्था विद्यार्थीहरूमाथि गोली बर्साउन आदेश दिने ‘तानासाह’ खुलेआम घुमिरहेको र अन्तर्वार्ता दिइरहेको भनी टिप्पणी गरेकी हुन्।
साथै उनले तिनै ‘तानासाह’को चुट्किला सुनेर ताली पिट्नेहरू देख्दा दिक्क लागेको पनि उल्लेख गरेकी छन्।
‘निहत्था विद्यार्थीहरूमाथि गोली बर्साउने आदेश दिने तानासाह खुलेआम घुम्दै छ। अन्तर्वार्ता दिँदै छ। अझै पनि चुट्किला सुनाएर दुनियाँ हसाइँरहेको छ। मानिसहरू उसको चुट्किला सुनेर ताली पिटिरहेका छन्। खासमा मानिसहरू चुट्किलामा ताली बजाइरहेका छैनन्, उनीहरू त निरंकुश तानासाहको हर्कबढाइँ गरिरहेका छन्’, बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दिक्क लाग्छ/अचम्म लाग्छ। यो अट्टहासको साक्षी कसरी बस्न सकेका होलान् मानिसहरू? एउटा दम्भी तानासाहको भाषणमा ताली बजाएर घर फर्किएकाहरू आफ्नो वरिपरि हुर्किरहेका जेन-जेडहरूसँग आँखा जुधाएर कुरा गर्न पो कसरी सकिरहेका होलान्?’
आफूहरू अझै न्यायको पर्खाइमा रहेको उनले बताएकी छन्।
‘हाम्रा साथीहरूको रगत, सडकमा अझै सुकेको छैन। चिसो रातहरूमा घाइते साथीहरूको शरीर झन् बढी कटकट्याएर दुखिरहेको छ। ती प्रत्येक रगतका थोपाले न्याय पाउनैपर्छ। यी चिसा रातहरूमा नओभाई निदाउन संघर्षरत आमाहरूका आँखाले न्याय पाउनैपर्छ। दुखिरहेका प्रत्येक घाउहरूले न्याय पाउनैपर्छ। हामी हाम्रो खातिर न्याय कुरिरहेका छौँ। इन्कलाब जिन्दावाद’, उनले लेखेकी छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए भने नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री थिए।
आन्दोलनमा तत्कालीन सरकारले बल प्रयोग गर्दा ७६ जना मारिएका थिए।
Shares

प्रतिक्रिया