नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मालाई एकता घोषणा सभामा आउन अपिल गरेका छन्।
मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा प्रचण्डले यस्तो अपिल गरेका हुन्।
उनले नेतृत्व परिवर्तन स्वाभाविक रुपमा हुने भन्दै कुनै पनि व्यक्ति नमर्दासम्म पदमा नरहने बताए।
‘नेतृत्व भनेको नमर्दासम्म अध्यक्ष पदमा रहिरहने, झुण्डिरहने भन्ने कुरा सहि होईन’ उनले भने, ‘विश्वभरका क्रान्ति, प्रतिक्रान्ति दुवैले यो शिक्षा दिएको छ।’
माओवादी, एकीकृत समाजवादीसहित ९ कम्युनिस्ट घटकबीच बुधबार एकता घोषणा हुँदै छ।
प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रीय समितिको बैठकले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग गर्न लागिएको एकतालाई अनुमोदन गर्ने एजेन्डा छ।
उक्त एकताप्रति असहमति प्रकट गर्दै जनार्दन शर्माले अलग अभियान घोषणा गरेका छन्।
नेता शर्माले प्रतिस्पर्धा गर्न नदिन र नयाँ नेतृत्व स्थापित हुन नदिन पार्टी एकताको नाटक गरिएको आरोप लगाएका छन्।
मंगलबार ललितपुरको बखुन्डोलमा पत्रकार सम्मेलन गर्दै उनले नेकपा माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टीहरूसँग एकता गर्ने अधिकार नभएको बताए।
‘अहिले माओवादीको महाधिवेशन आयोजक समिति बनेको थियो, आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ,’ शर्माले भने, ‘त्यसको अधिकार क्षेत्रभित्र नै छैन। त्यो आयोजक समितिले पाउँदै पाउँदैन। आयोजक समितिले त महाधिवेशन सम्पन्न गर्ने भनेको थियो।’
‘महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर टार्ने, पार्टीभित्र विधि, पद्धतिलाई स्थापित गर्न नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उदेश्यबाट प्रेरित भएर आज जुन खालको एकता गर्ने भनेको छ, त्यसले न कुनै निकास दिने छ,’ उनले थपे।
उनले आजैबाट माओवादी केन्द्र लगायतमा भद्रगोल सुरु भइसकेको समेत दाबी गरे।
यता, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, घनश्याम भुसाललगायत नेताहरूसँग पनि एकतामा आउन गम्भीर छलफल भइरहेको प्रचण्डले बताए।
माओवादीसँग हुन लागेको एकताप्रति असहमत झलनाथ–घनश्याम पार्टी पुनर्गठनको तयारीमा छन्।
Shares

प्रतिक्रिया