नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र महाधिवेशनको विषयमा मतभिन्नता भए पनि फुट आउँछ भन्ने कुनै आधार नरहेको स्पष्ट पारेका छन्।
शनिबार सानेपास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँगको संवादमा उनले भने, ‘नेपाली कांग्रेस एउटा परिपक्व, पाको, जिम्मेवार दल हो। फरक फरक विचारहरू छन्, तर सबैलाई एक ठाउँमा राखेर मन्थन गर्नु पर्छ। त्यसैले समय लिएकै कारण हो, फुट आउँछ भनेर कसैले कल्पना नगर्नुहोस्। विगतमा पनि फरक मतहरू थिए, अहिले पनि छन् र भविष्यमा पनि रहने छन्।’
महामन्त्री शर्माले महाधिवेशन निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विवाद समाधानका लागि महासमितिका सदस्यहरूको सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रस्ताव राखे। उनले महाधिवेशन प्रतिनिधि वा केन्द्रीय समितिको सुझावलाई नमान्ने हो भने महासमितिको सुझाव अनुसार मिति तय गर्न उपयुक्त हुने बताए।
उनले आगामी पुस १६, १७, १८ र १९ गते बीपी कोइरालाले प्रस्ताव गरेको राष्ट्रिय मेलमिलाप नीतिको समय पारेर महाधिवेशन गर्ने प्रस्तावमा जोड दिँदै भने, ‘डिजिटल भोटिङ प्रणालीमार्फत विश्वभर रहेका महासमिति सदस्यहरूको राय लिन सकिन्छ। यसरी हामी सबैलाई समेटेर मध्यमार्गी ढंगबाट सहमति बनाउन सक्छौं।’
Shares

प्रतिक्रिया