कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आफ्नो पार्टीमा भएको फुटलाई व्यंग्यात्मक भनेर प्रतिक्रिया दिएका छन्।
आज सामाजिक सञ्जालमा ४ बुँदामा आफ्ना धारणा सार्वजनिक गर्दै उनले कम्युनिष्टहरूबीच मोर्चाबन्दी जरुरी रहेको र उनीहरूबीच वैचारिक, सैद्धान्तिक, व्यावहारिक बहसहरू आवश्यक रहेको बताएका छन्।
एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको उनको प्रतिक्रिया छन्।
‘एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसक्यो। समयले धेरै पछि छोडिसक्यो,’ उनले फेसबुकमा लेखेका छन्, ‘यसैमा रमाउने, लफाङ्गिने, थेचारिने आफ्नै भुटभुटी मात्र हो। इमानदार दर्शकका लागि यो केवल व्यङ्ग्य मात्र लाग्छ।’
विप्लव नेतृत्वको पार्टी हिजो मात्रै विभाजित भएको छ। चिरण पुन ‘मिलन’को नेतृत्वमा पार्टी विभाजन भएको हो।
शुक्रबार पुन महासचिव रहने गरि ७५ सदस्यीय केन्द्रीय घोषणा गरिएको छ। साविकको १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको दाबी उनले गरेका छन्। पुनले माओवादी केन्द्रसँग एकता गर्नको लागि पार्टी विभाजन गरेको चर्चा छ।
उनले पार्टीको नाम र आगामी कदम आज घोषणा गरिने बताएका छन्। आफ्नो पार्टीमा भएको फुटपछि विप्लवले एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको भन्दै व्यंग्य गरेका हुन्।

Shares

प्रतिक्रिया