राजनीति


विदेशमा ज्यान गुमाएका १ सयभन्दा बढी नेपालीको शव राेकिए, स्वदेश ल्याइयोस् : सांसद संग्रौला

विदेशमा ज्यान गुमाएका १ सयभन्दा बढी नेपालीको शव राेकिए, स्वदेश ल्याइयोस् : सांसद संग्रौला

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ९:३०,

सांसद डिला संग्रौलाले विदेशमा ज्यान गुमाएका १ सय भन्दा बढि नेपाली श्रमिकहरुको शव ती मुलुकहरुमै राेकिएकाे हुँदा नेपाल ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

‘खाडी, मलेसिया लगायत विभिन्न मुलुकमा कोरोना बाहेकका कारणले ज्यान गुमाएका १ सय भन्दा बढी श्रमिकहरूको शव भएको जानकारी आएको छ,’ सांसद संग्रौलाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई दिएको ज्ञापन पत्रमा भनिएको छ, ‘दाह संस्कारका लागि स्वदेश ल्याउने वा सम्वन्धित मुलुकमै गर्ने भन्ने विषयमा मृतकका आफन्तसंग समन्वय गरी टुंगो लगाइयोस।’

दाहसंस्कारका लागि आफ्ना आफन्तका शव स्वदेश ल्याउन चाहने परिवारका लागि यथाशिघ्र शव नेपाल ल्याई सम्बन्धित परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरेकी छन्।

सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन लागु गर्नुका साथै अन्तर्राष्ट्रिय उडान र अन्य आवागमन बन्द गरेका कारण यस बीचमा विदेशमा ज्यान गुमाउने नेपालीहरुको आफन्तहरुले शव स्वदेश ल्याउन पाएका छैनन्।

उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका लाखौं नेपाली श्रमिक पनि नराम्ररी प्रभावित भएको हुँदा उनीहरुको जीउज्यान, रोजगारी र सेवासुविधाको रक्षाको पहल गर्न पनि सरकारसँग माग गरेकी छन्।

‘बहुसंख्यक नेपाली कामदार भएका खाडी मुलुक र मलेसियामा रोजगारदाताहरुले उनीहरूलाई कामबाट निकाल्न र बेतलबी बिदामा राख्न थालेका छन्,’ संग्रौलाले भनेकी छन्। ‘काम गुमेका तथा खान बस्न समस्या भएका श्रमिकहरुले उद्धारका लागि हारगुहार गरिरहेका छन्।’

सरकारले सम्वन्धित मुलुकमा रहेका कूटनीतिक नियोगहरुसंग समन्वय गरी समस्या समाधानको पहल गर्ने भने पनि दूतावासहरूले श्रमिकहरुका कुरा नसुनेका गुनासाहरु आइरहेको उनको भनाई छ।
विदेशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन पनि उनले माग गरेकी छन्।

मजदुरीका लागि छिमेकी मुलुक भारत पुगेर सिमानामा आई रोकिएका नेपाली नागरिकहरुलाई सरकारले देश प्रवेश गर्न नदिइ जिम्मेवारीबाट पन्छिएको उनको आरोप छ।

‘उनीहरू सीमानामा एकदमै नाजुक र असुरक्षित अवस्थामा बस्न वाध्य छन्। यस्तो अवस्थालाई अनदेखा नगरियोस्, उनीहरूलाई तत्काल स्वदेश ल्याइ सुरक्षित क्वारेन्टाइनमा राख्ने व्यवस्था गरियोस्,’ उनले भनेकी छन्।

याे पनि: 
लकडाउनले परदेशमै रोकियो पतिको शव, पत्नी भन्छिन्ः यस्तो पीडा कसैलाई नपरोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad