नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्दै छ।
केही बेरमा सुरु हुने बैठक महामन्त्री गगन थापाले ल्याउन लागेको महाधिवेशन तालिकामा केन्द्रित हुने एक नेताले जानकारी दिए।
यसअघि बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का कार्यतालिका पेस गर्ने विषयमा तयार नभएपछि थापाले बैठक नै बहिष्कार गरेका थिए।
‘अहिले बिहानको बैठकमा पनि सहमति नभए थापाले आज पनि बैठक बहिष्कार गर्ने वा बैठकमा उपस्थित भएर सभापतिसँग समय लिएर आफ्नो भनाइ राख्ने क्रममा नै तालिका सुनाएर निस्किने भन्ने तयारी छ’, ती नेताले नेपालखबरसँग भने।
महामन्त्री थापाले मंसिरमा कांग्रेसको विशेष महाधिवेशन गर्ने प्रस्ताव तयार पारेका छन्।
विशेष महाधिवेशन माग गर्दै कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते पार्टीको केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दिएका छन् भने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने निर्वाचनअघि नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा जोड दिइरहेका छन्।
कांग्रेसमा महामन्त्रीले ल्याएको एजेन्डा सभापतिले समर्थन जनाएपछि मात्रै पेस गर्ने चलन छ।
Shares

प्रतिक्रिया